नेपाल सुपर लिग

नेपाल सुपर लिगः धनगढी शीर्ष स्थानमा

काठमाडौं । इन्जुरी समयमा वैकल्पिक खेलाडी अफिज ओलावालेले निर्णायक गोल गरेपछि साबिक उपविजेता धनगढी एफसीले नेपाल सुपर लिग(एनएसएल) को दोस्रो संस्करणमा बुटवल लुम्बिनी  एफसीलाई १-० ले पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबारको जितसँगै धनगढी स्पष्ट दुई अंकको अग्रता लिँदै शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा धनगढीले वीरगंज युनाइटेडलाई २-१ ले हराएको थियो । पहिलो खेलमा ललितपुरसँग २-० ले पराजित बुटवल अंकविहीन रहँदै पुछारमा छ ।

१९ औं मिनेटमा मणी लामाको प्रहार धनगढीका गोलकिपर मोहम्मद ताहाले बचाएका थिए । त्यसको अर्को मिनेटमै फरवार्ड जिलेस्पीजंग कार्कीलाई धनगढीका मार्की खेलाडी आशिष चौधरीले पेनाल्टी बक्स नजिकैलडाएपछि बुटवलले फ्रिकिक प्राप्त गरेको थियो । कप्तान एरिक विष्टको उक्त फ्रिकिक ताहाले मुस्कीलले बचाए । सोही रिबाउन्डमा सरोज तामाङले गरेको प्रहार आफ्ना खेलाडीबाट डिफ्लेक्ट भएपछि धनगढीको खतरा टरेको थियो ।

२५ औं मिनेटमा गोलकिपर मोहमडु बाधक बन्दा धनगढी अग्रता लिन बन्चित रह्यो । विपक्षी रक्षकबाट बल खोस्दै फरवार्ड अल हिजाजीले विंगर आशिष चौधरीलाई पास निकालिदिएका थिए । पासलाई सदुपयोग गरेका आशिषको कट्ब्याकमा हिजाजीकै ‘वान टच’ प्रहार मोहमडुले बचाएका थिए ।

३६ औं मिनेटमा बुटवल अर्को सेट पीस अवसरमा अग्रता लिन चुक्यो । एरिक विष्टको कर्नरमा जिलेस्पीले गरेको हेडर ताहाले बचाएका थिए । त्यही क्षणमा सृजना भएको काउन्टरमा धनगढीले गोलको नजिक पुगेर पनि अग्रता लिन सकेन । पछिल्लो खेलमा निर्णायक गोल गरेका हिजाजीको क्रसमा अभिषेक गुरुङको फ्रि हेडरले पोस्टको दिशा लिन सकेन ।

निर्धारित हाफ सकिन पाँच मिनेट बाँकी छँदा फरवार्ड स्टेफन समीर विनोङको प्रहार ताहाले बचाए । विनोङले बल प्रहार गर्नुअघि धनगढीका कप्तान देवेन्द्र तामाङ र मिडफिल्डर रामचन्द्र वाजीले बक्सभित्रै ड्रिबल गरेका थिए ।

दोस्रो हाफको दास्रो मिनेटमै जिलेस्पीको प्रहारले गोल पोस्टको दिशा लिन सकेन । जिलेस्पीले विपक्षी मिडफिल्डर रामलाई बिट गर्दै करिब २० यार्डबाट लोअर शट प्रहार गरेका थिए । त्यसको पाँच मिनेटपछि बक्सभित्र जिलेस्पीले नै गरेको प्रहार ताहाले बचाए । यसपाली जिलेस्पीले सरोज तामाङको क्रस सदुपयोग गर्दै रक्षक कमल श्रेष्ठलाई बिट गरेका थिए ।

७२ मिनेटमा बुटवलले गोलको सुनौला अवसर खेर फाल्यो । राइट विंग्सबाट आइकोनिक खेलाडी आशिष लामाले दुई रक्षकलाई बिट गर्दै दिएको क्रस निगरानीमा नरहेका फरवार्डद्धय निराजन धामी र बिनोङले भेट्टाउन सकेनन् । त्यसको अर्को मिनेटमा भर्खरै मैदान प्रवेश गरेका अफिज ओलावालेको प्रहार बाहिरियो ।

निर्धारित समयको अन्तिममा बुटवलका दुई अवसर विफल भए । एरिकको प्रहार ताहाले बचाउँदा रिबाउन्डलाई आशिषले पोस्टको दिशा दिन सकेनन् ।

हिजाजीले मैदानको मध्यभागबाट निकालेको बललाई ‘फर्स्ट टच’ मै ओलावालेले पोस्टको दिशा दिँदै धनगढीलाई जित दिलाएका थिए ।