इङ्लिस प्रिमियर लिग

सालिबा थप ४ वर्ष आर्सनलमै रहने

काठमाडौं । फ्रेन्च रक्षक लिलियम सालिबाले इङ्लिस क्लब आर्सनलसँगको सम्झौता नवीकरण गरेका छन् । 

सालिबाले आफ्नो सम्झौता ४ वर्ष लम्बाएका हुन् । उनी सन् २०२७ सम्म आर्सनलमै रहने छन् ।

सन् २०१९ मा सेन्ट इटिनबाट आर्सनल भित्रिएका सालिबाले गत अगस्टमा मात्र आर्सनलका लागि डेब्यु गरेका थिए । यसबीचमा सालिबाले  फ्रेन्च क्लब  सेन्ट इटिन, नाइस र मार्सेमा लोनमा बिताए ।

सालिबाले गत संस्करण प्रिमियर लिगका ३३ मध्य २७ खेल खेल्दा २ गोल गरे ।

‘सालिबाले हामीसँग सम्झौता थप गरेका छन्, जुन हामी लामो समयदेखि खोजिरहेका थियौं । गत सिजन उनले आफूलाई प्रमाणित गरिहेका छन् । सालिबा हाम्रा लागि महत्वपूर्ण खेलाडी हुन्,’ प्रशिक्षक मिकेल अर्टेटाले भनेका छन् ।

रियाल मड्रिड र पेरिस सेन्ट जर्मन (पिएसजी) ले सालिबा अनुबन्धनको इच्छा देखाएका थिए ।