एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग

पुलिसको विजयी सुरुआत

फाइल फोटो

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुषतर्फ विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा शनिबार सम्पन्न खेलमा पुलिसले गण्डकी प्रदेशलाई ३-२ को सेटमा पराजित गरेको हो ।  

निकै रोमाञ्चक खेलको सुरुआती दुई सेट २५-२१ र २५-१६ ले आफ्नो पक्षमा पारेको पुलिसले त्यसपछिका दुई सेट १३-२५ र २४-२६ ले गुमाए पछि खेल पाँचौं सेटसम्म लम्बिएको थियो ।

पुलिसले पाँचौं तथा निर्णायक सेट १५-१० ले आफ्नो पक्षमा पार्दै सुखद सुरुआत गरेको हो ।

अब पुलिसले सोमबार शैलुङ्ग बागढुङ्गा स्पोर्टस क्लब तथा गण्डकीले आइतबार नेपाल एपिएफ क्लबको सामना गर्नेछन् ।

शनिबार नै सम्पन्न महिलातर्फको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले गण्डकी प्रदेश तथा पुरुषतर्फको खेलमा आर्मीले शैलुङ्ग बागढुङ्गा स्पोर्टस क्लबलाई समान ३-० को सोझो सेटमा पारजित गरेका थिए ।

शनिबार हुने अन्तिम खेलमा नेपाल एपिएफ क्लबले दावाँली मिलन क्लबको सामना गर्नेछन् ।