सहिद स्मारक ‘ए’ डिभिजन लिग

टुङ्गियो चर्च ब्वाइजको अपराजित यात्रा

 काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेडको अपराजित यात्रा ११ औं खेलमा आएर टुङ्गिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार ११ औं चरणको खेलमा चर्च ब्बाइजले शीर्ष स्थानको जावलाखेल युथ क्लबसँग १-० को पराजय ब्यहोरेको हो ।

यससँगै जावलाखेलले ११ खेलमा ७ जित, २ बराबरी र २ हारको नतिजासहित २३ अंक जोडेको छ ।  पहिलो पराजय ब्यहोरेको चर्च ब्वाइज समान खेलमा ४ जित र ६ बराबरी १ हारको नतिजासहित १८ अंकका साथ दोस्रो स्थानमा छ  ।

एनकोटो मोसाबीले गरेको एक मात्र गोल जावलाखेलको जितमा निर्णायक बन्यो । मोसाबीले  ६५ औं मिनेटमा मोसाबीले एकल प्रयासमा गोल गरेका थिए ।

फोडे फोफनाको पासमा मैदानको मध्ये भागबाट एक्लै अघि बढाएर पेनाल्टी बक्स बाहिरबाट मोसाबीले गरेको प्रहार चर्च ब्वाइजका गोलकिपर प्रिसोले रोम्रोसँग रोक्न नसक्दा गोलमा परिणत भएको थिए । मोसाबीको यो लिगमा नवौं गोल हो ।  

निकै रोमान्चक खेलमा दुवै टोलीले गोलको अवसरलाई सदुपयोग गर्न सकेनन् ।

पाँचौं मिनेटमा जावलाखेलका फोडे फोफनाले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार बाहिरियो । १९ औं मिनेटमा मोसाबीको प्रहार पोस्ट माथिबाट बाहिरियो ।

२४ औं मिनेटमा चर्च ब्वाइजका सुवास गुरुङको क्रसमा आशिष चौधरीको फ्रि हेडरले पोस्टको दिशा लिन सकेन ।

खेलको ५१ औं मिनेटमा जावलाखेलका हिसुब थपलियाको प्रहार गोललाइन नजिकै रहेका चर्च ब्वाइजका विवेक पौडेलले जोगाए । त्यसपछि आएको रिबाउन्ड  फोफनालाई लाग्दै बाहिरिएको थियो ।

७०औं मिनेटमा चर्च ब्वाइजका रंजित सिंह पान्द्रेले सिक्स यार्ड बक्स भित्रबाट प्रहार गरेको बल जावलाखेलका गोलकिपर अनिश देउलाले मुश्किलले बचाए।