नेपाल टी२० लिग

फार वेस्टसँग पोखराको हार, काठमाडौं प्लेअफमा

काठमाडौं । फार वेस्ट युनाइटेडसँग पोखरा एभेन्जर्सको ४१ रनको हारसँगै जारी नेपाल टी२० लिगको प्लेअफ समिकरण पूरा भएको छ ।

१० खेलमा १६ अंकसहित शीर्ष स्थानमा बसेको लुम्बिनी अल स्टार्स र समान खेलमा १४ अंक जोडेको दोस्रो स्थानको जनकपुर यसअघि नै प्लेअफमा प्रवेश गरिसकेका थिए ।

शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा काठमाडौं नाइट्समाथिको जितसँगै विराटनगर सुपर किंग्सले पनि प्लेअफमा स्थान बनाएको थियो । पोखराको हारले काठमाडौं प्लअ‍ेफ प्रवेश गरेको हो । काठमाडौंको १० खेलमा ८ अंक रह्यो भने पोखराको समान खेलमा ६ अंक रह्यो । फार वेस्टको भने १० खेलमा ६ अंक रह्यो ।

पहिलो प्लेअफमा लुम्बिनी र जनकपुरबीच प्रतिस्पर्धा हुनेछ । सो खेलको विजेता फाइनल प्रवेश गर्नेछ भने पराजित हुने टोलीले इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछ  । विराटनगर र काठमाडौंबीचको विजेता इलिमिनेटरमा प्रवेश गर्नेछ । इलिमिनेटरको विजेताले फाइनलमा लुम्बिनीसँग खेल्नेछ ।

फार वेस्टले प्रस्तुत गरेको एक सय ८८ रनको लक्ष्य पछ्याएको पोखराले १८.१ ओभरमा मात्र एक सय ४६ रनमा अलआउट भयो ।

पोखराका लागि कप्तान उपुल थरांगाले ३६,प्रतिश जिसीले ३४ र सिद्धान्त लोहनीले २८ रन जोडेका थिए ।

फार वेस्टका दुर्गेश गुप्ताले तीन तथा हस्मतुल्लाह साहिदी र प्रकाश जैसीले समान दुई विकेट लिए । 

यसअघि टस जितेर ब्याटिङ रोजेको फार वेस्टले कप्तान हस्मतुल्लाह र विनोद भण्डारीको शतकिय साझेदारीमा निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ८७ रनको योगफल तयार पारेको थियो ।

हस्मतुल्लाह र विनोदले पहिलो विकेटका लागि एक सय ३४ रनको साझेदारी गरेका थिए ।

हस्मतुल्लाहले ५१ बलमा ६ चौका र २ छक्का मद्दतमा ६७ रन जोड्दा विनोदले ४७ बलमा ६ चोका र २ छक्का मद्दतमा ५९ रन जोडे ।

पोखराका अभिमन्यु मिथुनले २ र प्रतिश जिसीले १ विकेट लिए ।