नवौं राष्ट्रिय खेलकुद

पुलिसको सहज जित, दुई खेल रद्द

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा सोमबार नेपाल पुलिस क्लबले ७६ रनको सहज जित निकाल्दा मुलपानीमा हुने तय भएका दुई खेलहरु भने रद्द भएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई ७६ रनले पराजित गर्यो ।

पुलिसले प्रस्तुत गरेको दुई सय पाँच रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय २८ रनमात्र बनाउन सक्यो ।

लुम्बिनीका बसिर अहमेदले सर्वाधिक ४६ रन बनाए । यस्तै, सौरभ खनालले २४, दीपेन्द्र रावतले १३ र प्रज्वल थापा १० रन जोड्नुबाहेक लुम्बिनीका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

लुम्बिनीलाई सस्तैमा रोक्न पुलिसका ललित राजवंशीले सर्वाधिक तीन विकेट लिए । यसबाहेक, करण केसी र गुल्सन झाले समान दुई विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिङमा आएको पुलिसले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय चार रनको योगफल खडा गरेको थियो ।

पुलिसका ओपनर कुशल भुर्तेलले सर्वाधिक ७५ रन बनाए । आक्रामक ब्याटिङ गरेका कुशलले ३६ बलमा सात चौका र पाँच छक्का प्रहार गरे । आरिफ शेखले पनि २२ बलमा तीन चौका र चार छक्कासहित ५० रन पूरा गरे ।

यसबाहेक, सुनिल धमलाले ३५ र दिलिप नाथले ३३ रन बनाए ।

लुम्बिनीका बसिर अहमेद, अनिल खरेल, दीपेन्द्र रावत र विशालविक्रम केसीले समान एक विकेट लिए ।

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज मुलपानीम हुने तय भएका दुवै खेलहरु मैदान खेल्न अयोग्य भए पछि टस पनि नभई रद्द भए । मुलपानीमा आज प्रदेश १ र एनआरएनए एकेडेमी तथा सशस्त्र प्रहरी बलको एपिएफ क्लब र बागमती प्रदेशबीच खेल हुने तालिका थियो ।

नवौं राष्ट्रिय खेलकुद असोज २८ गतेदेखि कार्तिक तीन गतेसम्म गण्डकी प्रदेशमा हुने तालिका रहे पनि सोही समयमा नेपाल टी २० लिग हुने भएपछि पुरुष क्रिकेटलाई अघि सारिएको हो ।