नवौं राष्ट्रिय खेलकुद

नवौं राष्ट्रिय खेलकुदः सुदूरपश्चिमले प्रदेश १ लाई हरायो

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा आइतबार सुदूरपश्चिमले प्रदेश १ लाई १३ रनले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको एक सय ४५ रनको लक्ष्य पछ्याएको प्रदेश १ निर्धारित २० ओभर सात विकेट गुमाएर एक सय ३१ रन बनायो ।

प्रदेश १ का दीपेश कडेलले सर्वाधिक ३४ रन बनाए । यसबाहेक, फिर्दोस अन्सारीले ३३, सोनु मण्डलले २६ र सन्दीप ढुङ्गानाले १३ रन बनाए ।

सुदूरपश्चिमका मिलन बोहराले दुई विकेट लिए । यस्तै, हेमन्त धामी, लोकेन्द्र चन्द, शेर मल्ल, नरेन साउद र नारायन जोशीले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङमा निम्त्याइएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४४ रनको योगफल तयार पारेको थियो ।

सुदूरपश्चिमका वसन्त खत्रीले सर्वाधिक ५३ रन बनाए । उनले ४० बलमा दुई चौका र चार छक्का प्रहार गरे । यसबाहेक, मिलन बोहराले ४४ र लोकेन्द्र चन्दले २४ रन बनाए ।

नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशको पोखरामा असोज २८ गतेदेखि तीन गतेसम्म हुने तालिका रहे पनि सोही समयमा नेपाल क्रिकेट संघ (क्यान) को आयोजनमा हुने फ्रेन्चाइज क्रिकेट लिग नेपाल टी २० हुने भएपछि पुरुष क्रिकेटलाई अघि सारिएको हो ।