जिम्बाब्वे

जिम्बाब्वे 'ए'विरुद्ध टस हारेर नेपाल ब्याटिङमा

काठमाडौं ।   जिम्बाब्वे ‘ए' विरुद्धको तीन ट्वान्टी २० खेलको शृंखलाअन्तर्गतको पहिलो खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ ।

अमेरिकामा जुनमा आयोजना हुने विश्वकप क्रिकेट लिग टु अन्तर्गतको त्रिकोणात्मक शृंखलाको तयारीमा रहेको नेपालले त्यसैको तयारीस्वरुप जिम्बाब्वे 'ए'सँग तीन ट्वान्टी २० र तीन एक दिवसीय शृंखला आयोजना गरेको हो ।

नेपालले चैत पपुवा न्यु गिनी (पिएनजी) विरुद्धको दुई एक दिवसीय खेलको शृंखला २-० ले गुमाएको थियो । पिएनजी र मलेसियासम्मेलित त्रिकोणात्मक ट्वान्टी २० खेलको शृंखला भने नेपालले जितेको थियो ।

त्यसैले नेपाल आफ्नो जित यात्रा कायम राख्न चाहन्छ । नेपालले शनिबार जिम्बाब्वे 'ए'विरुद्धको तीन एक दिवसीय शृंखलाअन्तर्गतको पहिलो खेल खेल्ने तालिका थियो । तर लगातारको वर्षाका कारण सो खेल रद्द गरिएको थियो ।

नेपाल क्रिकेट संघ(क्यान)ले शनिबारै पूर्वनिर्धारित खेल तालिका परिवर्तन गर्दै पहिला ट्वान्टी २० शृंखला खेलाउने भन्दै तालिका सार्वजनिक गरेको थियो । खेल दिउँसो एक बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु हुनेछ ।

क्यानले शनिबार मात्र ट्वान्टी २० शृंखलाका लागि सन्दिप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको थियो ।

नेपालको सिनियर टिममा बसिर अहमदले डेब्यू गरेका छन् ।

नेपाली टिम: सन्दीप लामिछाने, आशिफ शेख, रोहित कुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल आलम,  करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अविनाश बोहरा, बसिर अहमद ।