आरबिबी-एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग च्याम्पियनसिप

गण्डकीको विजयी सुरुआत

काठमाडौं । गण्डकीले आइतबार आरबिबी-एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग च्याम्पियनसिपमा विजय सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सप्पन्न दिनको पहिलो खेलमा गण्डकीले ढोरपाटन स्पोर्ट्स क्लबमाथि ३-१ को  जित निकाल्यो ।

गण्डकीले ढोरपाटनमाथि २५-१६, २३-२५, २५-१९,  २६-२४ को जित निकालेको हो ।

नेपाल भलिबल संघको आयोजनामा भएको प्रतियोगितामा आइतबारको दोस्रो खेल विभागीय टिम नेपाल पुलिस क्लब र गल्कोट स्पोर्ट्स क्लबबीच केही समयमा सुरु हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

आइतबारदेखि सुरु भएको प्रतियोगितामा महिलातर्फ पाँच टिम र पुरुषतर्फ सात टिम सहभागी छन् ।  महिलातर्फको खेल सोमबारदेखि मात्रै सुरु हुनेछ ।

गत असोजमा भएको एनभिए क्लब च्याम्पियनसिपबाट छनोट भएका टिमहरुले लिगमा प्रतिस्पर्धा गर्ने भएका हुन् । च्याम्पियनसिपमा महिलातर्फ न्यु डायमन्ड र पुरुषतर्फ आर्मीले उपाधि उचालेको थियो ।

क्लब लिगको महिला र पुरुष विजेताले समान ६ लाख रुपैयाँ, उपविजेताले तीन लाख रुपैयाँ, तेस्रो हुनेले एक लाख ५० हजार रुपैयाँ र चौथो हुनेले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै, विधागततर्फ उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाइकर,  लिब्रो र प्रशिक्षकले जनही १५र१५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।