आइसिसी विश्व क्रिकेट लिग डिभिजन २

युएईले पिएनजीलाई दियो १४८ रनको लक्ष्य

दुबई । आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन दुईअन्तर्गत त्रिकोणात्मक शृंखलामा घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) ले पपुवा न्यु गिनी (पिएनजी) सामू एक सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर ब्याटिङमा आएको युएईले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर एक सय ४७ रन बनायो ।

कुनै समय १६ रनमा पाँच विकेट गुमाएको युएईका इनिङ रोहन मुस्तफाले सम्हालेका थिए । मुस्तफाले एक सय ४४ बलमा नौ चौका र एक छक्कासहित ८८ रन बनाए ।

मुस्तफा र जहुर खानले अन्तिम विकेटका लागि ७० रनको साझेदारी गरेका थिए । १९ बलमा दुई रन जोडेका जहुर अविजित रहे ।

यसबाहेक, बसिल हमेदले २० रन बनाए । यी दुईबाहेक युएईका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

युएईलाई सस्तैमा समेट्ने क्रममा पिएनजीका अलेइ नाओले सर्वाधिक चार विकेट लिए । १० ओभर बलिङ गरेका उनले एक मेडन राख्दै २७ रन खर्चिए ।

यस्तै, चाड सोपेरले तीन विकेट लिँदा रिले हेकुरले दुई विकेट हात पारे ।

शृंखलाअन्तर्गत यसअघि भएको पहिलो खेलमा युएईले पिएनजीलाई सात विकेटले र दोस्रो खेलमा नेपाललाई ४८ रनले पराजित गरेको थियो ।

यस्तै, पिएनजीले दोस्रो खेलमा नेपाललाई दुई विकेटले नतिजा सुम्पिएको थियो ।

डिभिजन २ को दोस्रो स्थानमा रहेको युएईले १६ खेलबाट २० अंक जोडेको छ । यस्तै, १४ खेल खेल्दासम्म अंकविहिन रहेको पिएनजी तालिकाको पुछारमा छ ।