नेपाली क्रिकेट

दीपेन्द्रले बनाए अर्धशतक

मस्कट । चारदेशीय ट्वान्टी २० शृंखलाको पहिलो खेलअन्तर्गत आयोजक ओमानले प्रस्तुत गरेको एक सय ३६ रनको लक्ष्य पछ्याइरहेको नेपाली टोलीका ब्याटर दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएका छन् ।

दीपेन्द्रले ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो अर्धशतक प्रहार गरेका हुन् । ओमानविरुद्ध चौथो नम्बरमा ब्याटिङका लागि मैदान उत्रिएका दीपेन्द्रले ४६ बलमा चार चौकासहित ५० रन पूरा गरे । ४६औं बलमा चौका प्रहार गरेका दीपेन्द्र ५८ रन बनाएर खेलिरहेका छन् ।

एक सय ३६ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभरको खेल सकिँदासम्म चार विकेट गुमाएर एक सय १९ रन बनाएको छ । अल अमेरत मैदानमा दीपेन्द्रलाई सरद भेषावकरले साथ दिइरहेका छन् । सरदले एक बलमा एक रन बनाएर खेलिरहेका छन् । 
त्यसअघि दीपेन्द्रले चौथो विकेटका लागि आरिफ शेखसँग ४५ रनको साझेदारी गरेका छन् । आरिफ १९ बलमा तीन चौकासहित २५ रन बनाएर आउट भए ।

नेपालले ६२ रन जोड्दा ज्ञानेन्द्र मल्ललाई तेस्रो विकेटको रुपमा गुमाएको थियो । त्यसअघि नेपालबाट ज्ञानेन्द्रले पभेलियन फर्किनुअघि १३, ओपनर आशिफ शेखले १४ र प्रदीप ऐरीले चार रन जोडे ।