प्रदीप ऐरी जितेन्द्र मुखिया

पुनरागमनमा सपना पूरा गर्ने प्रदीप र जितेन्द्रको विश्वास

काठमाडौं । दोस्रोपल्ट आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेटको छनोट यात्रा लागि नेपाली टोली ओमान छ । सन् २०१४ मा पहिलो पटक ट्वान्टी–२० विश्वकपको स्वाद चाखिसकेको नेपाली टोली फेरि त्यहाँसम्म पुग्ने विश्वाससहित ग्लोबल छनोट खेल्दै छ । ओमान पुगेको नेपाली टोलीमा नियमित खेलाडी धेरै छन् । राष्ट्रिय टोलीबाट डेब्यु गर्ने आसमा रहेका तीन नयाँ खेलाडी सागर ढकाल, विवेक यादव र लोकश बमसँगै लामो समयपछि फेरि राष्ट्रिय टोलीमा फर्किएका छन् जितेन्द्र मुखिया र प्रदीप ऐरी ।

नेपालले बंगलादेशमा सम्पन्न २०१४ को ट्वान्टी–२० विश्वकपको प्रारम्भिक छनोटमा प्रतिस्पर्धा गर्दाका महत्त्वपूर्ण खेलाडी जितेन्द्र त्यसयता टोलीमा थिएनन् । त्यतिबेला बलियो मानिएको अफगानिस्तानविरुद्ध नेपालले महत्त्वपूर्ण जित निकाल्दा म्यान अफ द म्याच बनेका जितेन्द्र तीव्र गतिका बलर हुन् ।

लामो समयदेखि राष्ट्रिय टोलीको जर्सीबाट टाढिएका प्रदीप ऐरीले पनि राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । सन् २०१९ मा मलेसियाविरुद्ध पछिल्लो पटक नेपालको प्रतिनिधित्व गरेका प्रदीप ठूला शट प्रहार गर्न सक्ने ब्याटर हुन् ।

त्यो विश्वकपका नायक जितेन्द्र

सन् २०१४ मा नेपालले पहिलो पटक ट्वान्टी–२० विश्वकपको प्रारम्भिक छनोटमा प्रतिस्पर्धा गर्यो । तीनमध्ये दुई खेल जितेको नेपाली टोलीका प्रमुख सदस्य थिए तीव्र गतिका बलर जितेन्द्र मुखिया ।

मुख्य प्रशिक्षक पुबुदु दासानायाके हुँदै विश्वकपमा मौका पाएका जितेन्द्रले अहिले पनि उनकै नेतृत्वमा अवसर पाएका छन् । सन् २०१३ मा नेपाली टोली सिंगापुरमा एसिसी इमर्जिङ कपको बन्द प्रशिक्षणबाट  अवसर पाएका जितेन्द्रले अन्तिम टोलीमा भने स्थान बनाउन सकेका थिएनन्  ।

तर, घरेलु प्रतियोगितामा लगातारको उत्कृष्ट प्रदर्शनपछि उनी २०१३ मै यूएईमा सम्पन्न ट्वान्टी–२० विश्वकप छनोटको टोलीमा परेका थिए जितेन्द्र । उनले कहिल्यै पनि उमेर समूहबाट नेपाली टोलीको प्रतिनिधित्व गर्न पाएनन् । उनले विश्वकप छनोटमार्फत नै सिधै राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए ।

आफ्नो उपस्थिति प्रमाणित गर्नेक्रममा उनले ११ विकेट लिएका थिए । सन् २०१४ को ट्वान्टी–२० विश्वकपमा उनले ४ विकेट  लिए । अफगानिस्तानविरुद्ध जित हात पारेको खेलमा उनले ३ विकेट लिँदै म्यान अफ द म्याचको अवार्ड जितेका थिए ।

२०१५ यता भने उनले राष्ट्रिय टोलीमा स्थान बनाउन सकेनन् । नेपालले पुनः एकपल्ट विश्वकपको ढोका ढक्ढक्याउँदै छ ग्लोबल क्वालिफायरमार्फत । यसै प्रतियोगिताबाट जितेन्द्रले राष्ट्रिय टोलीबाट फेरि त्यो अवसर पाएका छन् । संयोग के छ भने पुुबुदु र जितेन्द्र दुवैले टोलीमा पुनरागमन गरेका हुन् । उनलाई राष्ट्रिय टोलीमा अवसर दिने प्रशिक्षक पुबुदुको पनि पुनरागमनपछिको डेब्यु प्रतियोगिता हो ।

‘मैले पुबुदु सरकै प्रशिक्षणमा पहिलो पटक राष्ट्रिय टोलीमा अवसर पाएको थिएँ,’ जितेन्द्रले सुनाए, ‘अहिले उहाँकै प्रशिक्षणमा पुनरागमन अवसर पाएको छु । म आफ्नो क्षमता पुनः प्रमाणित गर्दैै नेपालको विश्वकप सपना पूरा गर्न चाहन्छु । भर्खरै मात्र प्रधानमन्त्री कप सकिएको छ, त्यसैले मेरो स्वाभाविक लय छनोट प्रतियोगितामा पनि कायम रहनेमा विश्वस्त छु ।’

ढाडको समस्याका कारण लगातार मैदानबाहिर बस्दा राष्ट्रिय टोलीलाई धेरै मिस गरेको जितेन्द्रले बताए ।

‘म सन् २०१५ पनि राष्ट्रिय टोलीमा थिइनँ । मैले यसबीचमा घरेलु प्रतियोगिताहरू खेलें पनि स्वाभाविक स्तरअनुसार प्रदर्शन गर्न सकेको थिइनँ,’ उनले भने, ‘यस पटक प्रधानमन्त्री कपमा भने मैले स्वाभाविक लय भेट्टाएँ । सम्भवतः त्यसैले गर्दा टोलीमा पुनरागमन अवसर पाएको जस्तो लाग्छ ।’

जितेन्द्र ट्वान्टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानमाथिको जितलाई खेलजीवनकै उत्कृष्ट क्षण मान्छन् । उनी त्यो खेलमा चार विकेट लिँदै म्यान अफ द म्याचको ट्रफी जितेका थिए । उनले लिएका विकेटमध्ये तीन सबैभन्दा महत्त्वपूर्ण विकेट थिए ।

प्रदीप तीन वर्षपछि टोलीमा

ओपनर प्रदीप ऐरीले तीन वर्षपछि ग्लोबल क्वालिफायरका लागि घोषित टोलीमार्फत नेपाली राष्ट्रिय क्रिकेट टोलीमा पुनरागमन गरेका हुन् । प्रदीपले सन् २०१५ जुन ३० मा नेदरल्यान्डस्विरुद्धको खेलबाट नेपाली राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । उनी पछिल्लो पटक सन् २०१९ मा मलेसियाविरुद्ध खेलेपछि राष्ट्रिय टोलीमा स्थान बनाउन संघर्षरत थिए ।

उनले सन् २०१८ अक्टोबरमा पनि आइसीसी वल्र्ड ट्वान्टी–२० एसिया कप क्वालिफायरमा टोलीमा स्थान बनाएका थिए । उनले तीन खेलमा ७९ रन जोडेका थिए । तर पछिल्लो केही वर्षयता प्रदीपले कुर्कुंच्चा र घुँडाको चोटका कारण राष्ट्रिय टोलीमा स्थान बनाउन सकेका थिएनन् ।

‘चोटका कारण करिब तीन वर्षको अन्तरालपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेको छु,’ प्रदीपले भने, ‘अहिले म पूर्ण रूपमा फिट छु । म यो अवसर गुमाउन चाहन्न । तयारी राम्रो भएको छ । मेरो व्यत्तिगत प्रदर्शनमा पनि धेरै परिपक्वता आइसकेको छ । हामीले ग्लोबल क्वालिफायर पार गदैै विश्वकप छनोट सपना पूरा गर्नेमा विश्वस्त छु ।’

‘टोली सन्तुलित छ,’ उनले थपे, ‘अहिले हामी ब्याटिङमा पनि बलियो छौं जस्तो लाग्छ । विगतभन्दा अहिलेको खेल्ने शैली फरक छ, अहिले सबै टोली पावर हिटिङमा केन्द्रित हुन्छन् ।’

लामो समयपछि पुनरागमन गरेका दुई खेलाडीसँग न अनुभवको कमी छ न त आत्मविश्वासकै । अनुभवी र क्षमता बोकेका दुवै खेलाडीले नेपाललाई विश्वकपसम्म पुर्याउन महत्त्वपूर्ण योगदानको अपेक्षा गरिएको छ ।