इन्डियन प्रिमियर लिग

आइपिएलमा आज दुई खेल हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को १७औं संस्करणमा आइतबार दुई खेल हुँदैछन् ।

पहिलो खेलमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलुरु प्रतिस्पर्धा गर्दैछन् । खेल दिउँसो नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे कोलकाताको घरेलु मैदान इडेन गार्डेनमा सुरु हुनेछ ।

जारी सिजनमा कोलकाता आफ्नो सातौं खेल खेल्दैछ । यसअघिका ६ खेलमा चार जित र दुई हारेको नतिजासहित आठ अंक जोडेको कोलकाता तेस्रो स्थानमा छ ।

बेंगलुरुले आफ्नो आठौं खेल खेल्न लागेको हो । जारी सिजनमा निकै निरासाजना प्रदर्शन गर्दै आएको बैंगलुरु यसअघिका सात खेलमा ६ हार र एक जित निकाल्दै दुई अंकका साथ पुछारमा छ ।

कोलकाता श्रेयस अय्यर तथा बेंगलुरु फफ डु प्लेसीको कप्तानीमा मैदान उत्रिनेछन् ।

आइपिएलमा हालसम्म कोलकाता र बेंगलुरुबिच ३३ खेल भएका छन् । जसमा कोलकाताले १९ र बैंगलुरुले १४ खेल आफ्नो पक्षमा पारेका छन् ।

यसैगरी साँझ ७ः४५ बजे सुरु हुने खेलमा पन्जाब किंग्सले घरेलु मैदानमा गुजरात टाइटन्सको सामना गर्दैछ ।

जारी सिजन गुजरात सात खेलमा तीन जित र चार हारको नजितासहित ६ अंक जोडेर आठौं स्थानमा छ । पन्जाब समान खेलबाट दुई जित र पाँच हारसहित चार अंकका साथ नवौं स्थानमा छ ।