क्रिकेट प्रतियोगिता

विश्वकप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेटः महानगर प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विश्वकप खेल्ने खेलाडीको खोजी गर्न विद्यालयस्तरीय लिग क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताएका छन् ।

शुक्रबार भरतपुर महानगरपालिकाको आयोजनामा भइरहेको विद्यालयस्तरीय क्रिकेट लिग प्रतियोगिता समारोहलाई सम्बोधन गर्दै दाहालले महानगरको एक मात्र उद्देश्य विश्वकप खेल्ने खेलाडी उत्पादन गर्ने रहेको स्पष्ट पारिन् ।

‘चितवनले यसअघि विश्वकप खेल्ने खेलाडी उत्पादन गरी सकेको छ’,उनले भनिन्,‘विद्यालयस्तरबाटै खेलाडी छनोट गर्दा उच्च सम्भावना रहन्छ। विद्यालयस्तरीय प्रतियोगिताबाट लुकेका प्रतिभालाई बाहिर ल्याउन मद्दत पुर्याउँछ ।’

प्रमुख दाहालले देशमा भएको आर्थिक मन्दीका कारण दुई चरणमा निर्माण गर्ने गरी रंगशालाको निर्माण कार्य अगाडि बढाउन लागेको बताइन् ।  पहिलो चरणमा तत्कालै खेल्न मिल्ने गरी खेल मैदान, प्याभिलियन, टावर र १५ हजार अट्ने प्याराफिट निर्माण हुने र अर्को चरणमा बाँकी रहेको सबै काम हुने प्रमुख दाहालको भनाइ छ ।

दाहालले सन् २०२७ मा नेपालमा हुने यु १९ महिला विश्वकप क्रिकेट प्रतियोगिता गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलाउने गरी महानगरले तयारी गर्ने र त्यसको समवन्य गर्न संघीय सरकार, राष्ट्रिय खेलकुद परिषद्( राखेप) र नेपाल क्रिकेट संघ (क्यान) लाई आग्रह पनि गरिन् ।

कार्यक्रमका प्रमुख अतिथि राखेप सदस्यसचिव टंकलाल घिसिङले भरतपुर महानगरपालिकाले विद्यालयदेखि विश्वकपसम्म भन्ने नाराका साथ लिगको आयोजना गरेकोमा खुसी व्यक्त गरे । उनले रंगशालाको निर्माणकाको लागि राष्ट्रिय खेलकुद परिषद सकारात्मक रहेको र त्यसका लागि थप प्रकृया अघि बढाउने प्रतिबद्धता जनाए  ।

क्यानका सचिव पारस खड्काले सन् २०२७ मा हुने यु-१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताको लागि गौतम बुद्ध क्रिकेट रंगशालामै प्रशिक्षण गर्न सकिने उल्लेख गर्दै यस विषयमा विषयमा क्यान सकारात्मक रहेको बताए ।  

 भरतपुरका सामुदायिक र निजी गरी १० वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा शुक्रबारदेखि लिग चरणको नकआउट चरण सुरु भएको छ ।

प्रत्येक शुक्रबार र शनिबार गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने लिगमा जिल्ला क्रिकेटटसंघ चितवनको प्राविधिक सहयोग रहने छ भने एक्सपोर्ट एजुकेशन एण्ड भिषा सर्भिसले प्रायोजन गरेको छ । प्रतियोगिता ३ महिनासम्म चल्ने महानगरपालिकाले जनाएको छ ।