एसिसी महिला प्रिमियर कप

नेपालको लगातार दोस्रो जित

काठमाडौं । एसिसी महिला प्रिमियर कप २०२४ मा नेपालले लगातार दोस्रो जित निकालेको छ । नेपालले मलेसियाको बायोमास ओभलमा आइतबार भुटानलाई आठ विकेटले पराजित गरेको हो ।

भुटानले प्रस्तुत गरेको ६६ रनको लक्ष्य नेपालले ११.५ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि अविजित रहेका सीता रानामगर ३२ र रुबिना क्षेत्रीले १७ रन बनाए ।

तेस्रो विकेटका लागि सीता र रुबिनाले अविजित ४८ रनको साझेदारी गरेका थिए । भुटानका लागि अन्जु गुरुङ र अन्जुली घलेले समान एक विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै ६५ रनको योगफल तयार पार्यो। भुटानका लागि नवाङ छोडेनले २५, कप्तान डिचेन वाङ्गमोले १७ र छिङि जाङ्गमोले १६ रन बनाए ।

नेपालका लागि कविता कुँवर, सीता रानामगर, कविता जोशी र कप्तान इन्दु बर्माले समान एक विकेट लिए ।

लगातार दोस्रो जितसँगै नेपालले क्वार्टरफाइनलको सम्भावना बलियो बनाएको छ । पहिलो खेलमा नेपाललले हङकङलाई आठ विकेटले पराजित गरेका थियो । 

अब नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार माल्दिभ्सको सामना गर्नेछ ।