भारत-जिम्बाब्वे शृंखला

ट्वान्टी २० विश्वकपलगत्तै भारतले जिम्बाब्वेको भ्रमण गर्ने

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा ट्वान्टी २० विश्वकप सम्पन्न भएको एक सातापछि आगामी जुलाईमा जिम्बाब्वेले पाँच ट्वान्टी २० अन्तर्राष्ट्रिय खेलको शृंखलाका लागि भारतलाई निम्त्याउने भएको छ ।

जुलाई ६ देखि १४ सम्म चल्ने शृंखलाका सबै पाँच खेल हरारेमा हुनेछन् । त्यसमध्ये तेस्रो खेल राती खेलाउनेछ भने बाँकी चार खेल दिउसो हुने बताइएको छ ।

‘भारतलाई पाँच ट्वान्टी २० अन्तर्राष्ट्रिय खेलको शृंखलाका लागि आतिथ्य प्रदान गर्ने कुराले हामी निक्कै उत्साहित छौं । यो वर्ष जिम्बाब्वे क्रिकेटमा यो सबभन्दा ठूलो अन्तर्राष्ट्रिय आकर्षण हुनेछ,’ जिम्बाब्वे क्रिकेटका अध्यक्ष ताभेन्ग्वा मुकुहलानीले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यो शृंखलाको महत्वको विषयमा मैले धेरै बोल्नु पर्दैन । हामी यो उच्च स्तरको खेलका लागि समयमै सब तयारी पूरा गर्न युद्धस्तरमा जुटिसकेका छौं ।’

भारतले पछिल्लो पटक २०२२ को अगस्टमा तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेलको शृंखलाका लागि जिम्बाब्वेको भ्रमण गरेको थियो । त्यतिबेला भ्रमणकारी टोलीले शृंखला ३-० को एकतर्फी नतिजामा जितेको थियो । त्यसयता यी दुई टोलीबीच ट्वान्टी २० स्वरुपमा एकपटकमात्र भेट भएको छ । जुन भेट गत वर्ष अस्ट्रेलियामा सम्पन्न ट्वान्टी २० विश्वकपमा भएको थियो ।

समग्रमा भारत र जिम्बाब्वेबीच अहिलेसम्म आठ पटक ट्वान्टी २० अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा भारतले ६ पटक जित हासिल गरेको थियो ।

पहिलो पटक २० टिमकोबीचमा प्रतियोगिता हुन लागे पनि जिम्बाब्वे यो वर्षको ट्वान्टी २० विश्वकपमा छनोट हुन सकेको छैन ।