ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखला

चौथो ट्वान्टी २० मा पनि न्युजिल्यान्ड विजयी

काठमाडौं । घरेलु टोली न्युजिल्यान्डले ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलाको चौथो खेलमा पाकिस्तानलाई सात विकेटले पराजित गरेको छ । यो जितसँगै न्युजिल्यान्डले पाँच खेलको शृंखलामा ४-० को अग्रता लिएको छ ।

क्राइस्टचर्चस्थित हेग्ली ओभलमा शुक्रबार पाकिस्तानले प्रस्तुत गरेको १ सय ५९ रनको लक्ष्य न्युजिल्यान्डले १८.१ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।

न्युजिल्यान्डका लागि ड्यारिल मिचेलले ४४ बलमा सात चौका र दुई छक्काको मद्दतले अविजित ७२ रनको योगदान गरे । यसैगरी ग्लेन फिलिप्स ५२ बलमा पाँच चौका र तीन छक्काको मद्दतले ७० रनमा अविजित रहे ।

ड्यारिल मिचेल र ग्लेन फिलिप्स 

चौथो विकेटका लागि मिचेल र फिलिप्सले अविजित १ सय ३९ रनको साझेदारी गरे । पाकिस्तानका लागि तीनै विकेट कप्तान शाहिन शाह अफ्रिदीले लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १ सय ५८ रनको योगफल तयार पारेको थियो ।

पाकिस्तानका लागि मोहम्मद रिजवानले ६३ बलमा ६ चौका र दुई छक्काको मद्दतले अविजित ९० रनको योगदान गरे । यसैगरी मोहम्मद नवाजले अविजित २१, बाबर आजमले १९ र इफ्तिखर अहमदले १० रन बनाए ।

 मोहम्मद रिजवान

दोस्रो विकेटका लागि रिजवान र आजमले ५१ रनको साझेदारी गरे । न्युजिल्याल्डका लागि म्याट हेनरी र लोकी फर्गुसनले समान दुई तथा एडम मिल्नेले एक विकेट लिए ।

यसअघि न्युजिल्यान्ड ४६, २१ र ४५ रनले विजयी भएको थियो । शुंखलाको पाँचौं तथा अन्तिम खेल आइतबार हुनेछ ।