प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता

प्रधानमन्त्री कपः सुदूरपश्चिमको पहिलो जित

 काठमाडौं । लुम्बिनी प्रदेशलाई नौ विकेटले परावित गर्दै प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले पहिलो जित निकालेको छ ।

जितसँगै सुदूरपश्चिमले दुई खेलमा दुई अंक जोडेको छ । पहिलो पराजय ब्यहोरेको लुम्बिनीको समान खेलबाट दुई अंक नै छ ।

मुलपानी क्रिकेट मैदान ( माथिल्लो) मा शुक्रबार लुम्बिनीले प्रस्तुत गरेको ७२ रनको लक्ष्य सुदूरपश्चिमले ९.५ ओभरमा मात्र एक विकेट गुमाउँदै पूरा गर्यो ।

सुदूरपश्चिमका लागि कविता जोशीले अविजित २४, रेवती धामीले अविजित १७ र रुबी पोदारले १४ रन बनाए । लुम्बिनीका लागि एक मात्र विकेट मधु डिसीले लिइन् ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा  सात विकेट गुमाउँदै ७१ रनको योगफल तयार पारेको थियो । लुम्बिनीका लागि सरस्वती पुनले १९, आस्मा पुलामी मगरले १६ र सुस्मिता बजगाईँले १४ रन बनाए । 

सुदूरश्चिमका लागि लक्ष्मि साउदले दुई तथा इश्वरी विष्ट, कप्तान ऋतु कनोजिया र अनु कडायतले समान एक विकेट लिए ।पहिलो खेलमा सुदूरपश्चिम एपिएफसँग नौ विकेटले पराजित हुँदा लुम्बिनीले गण्डकीलाई चार विकेटले हराएको थियो ।

शुक्रबार नै सम्पन्न अन्य खेलमा कोशीले बागमतीलाई आठ विकेट, गण्डकीले कर्णालीलाई ४४ रन र एपिएफले मधेशलाई १० विकेटले पराजित गरे ।