आइसिसी एकदिवसीय विश्वकप

एकदिवसीय विश्वकपः न्युजिल्यान्डले दियो अफगानिस्तानलाई २ सय ८९ रनको लक्ष्य

काठमाडौं । न्युजिल्यान्डले भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा अफगानिस्तानसामू २ सय ८९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

चेन्नईस्थित चिदम्बर क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यन्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८८ रनको योगफल तयार पारेको थियो ।

न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले ८० बलमा समान चार चौका र छक्काको मद्दतले सर्वाधिक ७१ रनको योगदान गरे । यसैगरी कप्तान टोम लाथमले ७४ बलमा तीन चौका र दुई छक्काको मद्दतले ६८, विल योङ्गले ६४ बलमा चार चौका र तीन छक्काको मद्दतले ५०, रचिन रन्द्रिले ३२, मार्क च्याम्पम्यानले अविजित २५ र डिभोन कोन्वेले २० रन बनाए ।

पाँचौं विकेटका लागि फिलिप्स र लाथमले १ सय ४४ तथा दोस्रो विकेटका लागि योड्ग र रविन्द्रले ७९ रनको साझेदारी गरे ।

अफगानिस्तानका लागि  नविन उल हक र अज्मतुल्लाह ओमजाइले समान दुई तथा मुजिब उर रहमान र राशिद खानले समान एक विकट लिए ।

हालसम्म यी दुई टोलीले एकदिवसीयमा दुई खेल मात्र खेलेका छन् । जसमा न्युजिल्यान्डले सफलता प्राप्त गरेको छ ।

दुवै खेल आइसिसी एकदिवसीय विश्वकपका नै हुन् । न्युजिल्यान्ड सन् २०१५ मा ६ तथा सन् २०१९ मा सात विकेटले विजयी भएको थियो ।