एसिसी महिला ट्वान्टी-२० इमर्जिङ टिम्स एसिया कप

हङकङसँगको खेल रद्द भएसँगै नेपाल बाहिरियो

फाइल तस्बिर

काठमाडौं । एसिसी महिला ट्वान्टी-२० इमर्जिङ टिम्स एसिया कप अन्तर्गत शनिबारका लागि तय नेपाल र आयोजक हङकङ बीचको खेल रद्द भएको छ ।

मङकङ क्रिकेट मैदानमा बिहान ६ः४५ मा सुरु हुनुपर्ने खेल लगातारको वर्षका कारण टस समेत हुन नपाइ रद्द भएको हो ।

खेल रद्द भएसँगै समूह ‘ए’ का दुवै टोलीले समान एक अंक बाँडेका छन् ।

अंक बाडेसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ । हङकङले पनि समूह चरण पार गर्न सकेन । दुवै टोलीले तीन खेलमा समान दुई अंक जोडे ।

नेपाल र हङकङ बाहिरिएसँगै यो समूहबाट भारत ‘ए’ र पाकिस्तान ‘ए’ सेमिफाइनल प्रवेश गरेका छन् ।

पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग पराजित नेपालले भारत ‘ए’ सँगको दोस्रो खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको थियो ।

यसैगरी भारतसँग पराजित हङकङले पाकिस्तासँग अंक बाँडेको थियो ।

थाइल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले पहिलो पटक प्रतियोगितामा सहभागिताको अवसर पाएको हो ।

यसअघि तीन खेलमा एक-अर्काको सामना गर्दा नेपालले एक र हङकङले दुई खेल आफ्नो पक्षमा पारेका छन् ।

यि दुईले सन् २०१९ मा पहिलो पटक एक अर्काको सामना गरेका थिए । आइसिसी महिला ट्वान्टी-२० विश्वकप छनोट अन्तर्गत भएको उक्त खेलमा नेपाल चार विकेटले विजयी भएको थियो ।

आइसिसी महिला ट्वान्टी-२० विश्वकप एसिया छनोट अन्तर्गत नै सन् २०२१ मा भएको खेल हङकङले ६ विकेटले आफ्नो पक्षमा पारेको थियो ।

एसिसी महिला ट्वान्टी-२० च्याम्पियनसिप अन्तर्गत गत वर्ष भएको पछिल्लो भेटमा पनि हङकङ सात विकेटले विजयी भएको थियो ।