आइपिएल

दिल्लीलाई हराउँदै राजस्थान शीर्ष स्थानमा

काठमाडौं । दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै राजस्थान रोयल्य इन्डियन प्रिमियर लिग (आइपिएल) को शीर्ष स्थानमा उक्लिएको छ ।

यस जितसँगै शीर्ष स्थानमा उक्लिएको राजस्थानले तीन खेलबाट चार अंक जोडेको छ । लगातार तेस्रो पराजयसँगै अंकविहिन दिल्ली तालिकाको नवौं स्थानमा छ ।

गोवाहटीस्थित वर्षापरा क्रिकेट स्टेडियममा शनिबार सम्पन्न खेलमा राजस्थानले प्रस्तुत गरेको दुई सय रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ४२ रन मात्र बनायो ।

दिल्लीका लागि कप्तान डेविड वार्नरले ५५ बलमा सात चौकाको मदद्तमा सर्वाधिक ६५ रन जोडे । ललित यादवले ३८ तथा राइली रुस्सोले १४ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकामा रन बनाउन सकेनन् ।

चौथौ विकेटका लागि वार्न र यादवले ६४ रनको साझेदारी गरेका थिए ।

राजस्थानका लागि ट्रेन्ट बोल्ड र युजवेन्द्र चहलले समान तीन तथा रवीचन्द्र आश्विनले दुई तथा सन्दीप शर्माले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा चा विकेट गुमाउँदै एक सय ९९ रनको योगफल तयार पारेको थियो ।

राजस्थानका लागि जोस बटलरले ५१ बलमा ११ चौका र एक छक्काको मद्दतमा सर्वाधिक  ७९ रन बनाए । यसैगरी यशस्वी जैसवालले ३१ बलमा ११ चौका र एक छक्काको मद्दतमामा ६० तथा सिम्रोन हेडयमारले अविजित ३९ रन बनाए ।

पहिलो विकेटका लागि बटलर र जैसवालले ९८ रनको साझेदारी गरेका थिए ।

दिल्लीका लागि मुकेश कुमारले दुई तथा रोभमन पावेल र कुलदीप यादवले समान एक विकेट लिए ।