एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप

आर्मी समूह विजेता बन्दै सेमिफाइनलमा

फाइल फोटो

काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मी क्लबले सातौँ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ समूह विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको छ ।

आर्मीले त्रिपुरेश्वरस्थित  राष्ट्रिय खेलकुद परिषद्  (राखेप)को कभर्डहलमा शुक्रबार  सम्पन्न  खेलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३–२ को सेटमा पराजित गर्दै लगातार तेस्रो जित हात पारेको हो । 
 

पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको आर्मीले त्यसपछिका दुई सेट १९–२५,१३–२५ ले गुमाएको थियो ।

यसैगरी चौथो सेट आर्मीले २५–२२ ले आफ्नो पक्षमा पार्दा खेल पाँचौ तथा अन्तिम सेट सम्म लम्बिएको थियो । पाँचौ तथा अन्तिम सेट १५–५ ले जित्दै आर्मी समूह विजेता बनेको हो ।

यस जितसँगै समूह ‘बी’को आर्मीले तीन खेलमा आठ अकंक जोड्दा पराजय ब्यहोरेको एपएिफले पनि समान खेलबाट सात अंकका साथ उपविजेताका रुपमा सेमिफाइनलमा स्थान बनाएको छ ।

यससँगै महिलातर्फको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । शनिबार हुने सेमिफाइनलमा आर्मीले साबिकको विजेता न्यु डायमन्ड युथ स्पोर्टस क्लब तथा एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछन् ।

पुलिस समूह ‘ए’को विजेता तथा न्यु डायमन्ड उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेका हुन् ।

शुक्रबार नै सम्पन्न महिलातर्फको पहिलो खेलमा गण्डकी प्रदेशले कृष्ण सेकेन्डरी एकेडेमिलाई २५–८,२५–१० र २५–५ ले पराजित गर्दै पहिलो जित निकालेको थियो ।