खेलकुदमा महिला

पर्खाइमा महिला रेफ्री

काठमाडौं । महिलाले केही गर्न सक्दैनन्, चुलोचौको गर्दै घरभित्रै सीमित हुनु महिलाको नियति हो भन्ने जस्ता मान्यता अब धेरै पुरानो भइसक्यो ।

२१औं शताब्दीका महिलाहरूले पुरुषको अपहेलना सहेर बस्ने ‘फगत प्राणी’बाट आफूहरूलाई पनि उत्तिकै सक्षम मानवका रूपमा स्थापित गरिसकेका छन् । अब महिला पुरुषको घर धान्ने साधन होइनन् । पुरुषसरह मानव सभ्यताका अभिन्न पात्र हुन् महिला ।

हरेक क्षेत्रमा महिलाको उपस्थिति पुरुषको दाँजोमा संख्यात्मक हिसाबमा कम भए पनि गुणात्मक हिसाबमा दरिलो हुन थालिसकेको छ । हवाईजहाज उडाउनेदेखि दिनरात नभनी स्वास्थ्योपचारमा खटिने, सुरक्षा निकायमा पुरुषसँग पैठाजोरी खेल्नेदेखि राष्ट्रको प्रतिष्ठा बढाउने खेलक्षेत्रमा पनि महिलाको उपस्थिति पछिल्लो समय गर्व गर्न लायक बन्दै छ ।

भर्खरै मध्यपूर्वले इतिहासमै पहिलो पटक आयोजना गरेको कतार विश्वकप २०२२ महिला सशक्तीकरणको यात्रामा एउटा महत्त्वपूर्ण कोसेढुंगा बन्यो । विश्व फुटबलकै सबैभन्दा ठूलो प्रतियोगिता पुरुष विश्वकपमा तीन महिला रेफ्रीले मैदानमा निर्णायकको भूमिका निर्वाह गरे ।

फ्रान्सकी ३८ वर्षीया स्टेफेन फ्रापार्ट पुरुष फुटबलमा रेफ्रीको भूमिका निर्वाह गर्ने पहिलो महिला बनिन् । विश्वकपअघि नै उनले फ्रेन्च लिग वानअन्तर्गत सन् २०१९ मा स्ट्रासबर्ग र एमिन्सबीचको खेल खेलाइसकेकी थिइन् । उनले च्याम्पियन्स लिग, युइएफए सुपर कपलगायतका प्रतियोगितामा पनि निर्णायकको भूमिका निर्वाह गरिसकेकी छन् ।

कतार विश्वकपअन्र्तगत कोस्टारिका र जर्मनीबीचको समूह चरणको खेलमा उनी नै मुख्य निर्णायकको रूपमा मुखमा सिठी च्यापेर मैदान प्रवेश गरेकी थिइन् । जसले उनलाई विश्वकपको ९२ वर्ष लामो इतिहासमा रेफ्री बन्ने पहिलो महिलाको कीर्तिमानबाट विभूषित गर्यो । उनीसँगै यसपालि विश्वकपमा जापानकी यामासिता योसिमा, रूवान्डाकी सलिमा मनुकान, ब्राजिलकी न्युजा ब्याक र मेक्सिकोकी क्रेन डियाज मेडिनाले पुरुष फुटबलमा रेफ्रीको भूमिका निर्वाह गरे ।

पछिल्लो समय नेपालमा पनि खेलकुदमा महिलाको उपस्थिति उल्लेखनीय रूपमा बढ्दै छ । खेलाडीका रूपमा यो इतिहास अली पुरानै भइसक्यो । निर्णायकको भूमिकामा पनि महिलाहरू मूलधारमै देखिन थालिसकेका छन् ।

विश्वकपमा महिला रेफ्रीको प्रयोग गरिए पनि नेपालमा भने ठूला खेलमा महिला रेफ्रीलाई त्यति धेरै विश्वास गर्न थालिएको छैन । फुटबलमा खासगरी यो समस्या झनै बढी छ । महिला रेफ्रीहरू धेरैजसो महिला खेलमा मात्र सीमित छन् । पर्याप्त क्षमता भए पनि अवसर पाउन सकेका छैनन् । ‘बी’ डिभिजन लिगका सीमित खेलमा लाइनमा दौडिनु र फोर्थ अफिसियलको भूमिकामा रहनुमात्र अहिलेसम्म नेपाली पुरुष फुटबलमा महिला रेफ्रीले पाएका अवसर हुन् ।

पूर्व फिफा सहायक रेफ्री श्याम लामा यसपालि पुरुष विश्वकपमै महिला रेफ्रीले खेल खेलाइसकेपछि नेपालमा पनि विस्तारै महिलालाई अगाडि बढाउने योजना रहेको बताउँछन् ।

रेफ्री एसेसरको भूमिकामा समेत कार्यरत लामाले भने, ‘अब विश्वकप नै महिलाले खेलाइसके । हामीकहाँ पनि अब शीर्ष डिभिजनको लिगमै महिला रेफ्री प्रयोग गर्ने विषयमा सोचिरहेका छौं । तर पहिला लाइनमा र फोर्थ अफिसियलको रूपमा प्रयोग गर्छौ । त्यसपछि उनीहरूको क्षमता हेरेर, आत्मविश्वास बढाएर मुख्य भूमिका दिने योजना छ ।’

पुरुषको प्रतियोगिता खेलाउने अवसरको कुरा नेपाली महिला रेफ्रीका लागि धेरै परको भयो । महिलाका प्रतियोगिताहरू निकै नगण्य रूपमा मात्र हुँदा महिलाका लागि ‘रेफ्री’ पेसा बन्न सकेको छैन ।

नेपाली खेलकुदमा महिला र पुरुषको बीचमा धेरै विभेद छ । प्रतियोगिता गर्ने, पारिश्रमिक दिने, पुरस्कार दिनेलगायतका सबै पक्षमा महिलाहरू अपहेलित छन् । निर्णायकको भूमिकामा पनि महिलाले पुरुषसरह राम्रो काम गर्न सक्ने फिफा महिला रेफ्री अस्मिता मानन्धर दाबी गर्छिन् ।

‘हामीले अवसर नपाएका मात्र हौं । जबकि हामी महिलाहरू पुरुषले भन्दा राम्ररी खेल गराउन सक्छौं । पुरुषको तुलनामा हामी महिलाले खेलाएको खेलमा मैदानभित्र झगडा हुने सम्भावना एकदमै कम हुन्छ,’ उनले भनिन्, ‘खेलाडीले हामी महिला भएकै कारण हत्तपत्त अपशब्द प्रयोग गर्दैनन् । पुरुष खेलाडीले हाम्रो समान गर्छन ।’ 

नेपालमा सर्वाेच्च निकायबाट पुरुष र महिला रेफ्रीमा विभेद गरिए पनि खेल दौरान त्यस्तो कुनै दुर्व्यवहार भोग्नु नपरेको मानन्धरले बताइन् । अझ विश्वकपमै महिलाले खेलाएको देख्न पाउँदा गौरवको महसुस भएको अनुभूति उनले सुनाइन ।

‘कतार विश्वकपमा जर्मनी र कोस्टारिकाबीचको खेलमा पहिलो पटक महिला रेफ्रीको प्रयोग गरियो । महिलाले पनि त्यस्तो उच्च स्तरीय खेल खेलाउन सकेको देख्दा गर्व लाग्यो । हामी पनि त्यस्तै अवसरको खोजीमा छौं । हामीले पनि पुरुषको फुटबल खेलाउन पाइयोस भन्ने चाहना छ,’ मानन्धरले अपेक्षा व्यक्त गरिन् ।

अर्की महिला रेफ्री लक्ष्मी श्रेष्ठ सम्बन्धित निकायबाट साथ नपाउँदा नेपालमा महिला निर्णायकहरू हकलाग्दो अवसरबाट वञ्चित भइरहेको गुनासो गर्छिन् । भन्छिन्, ‘महिलालाई सबैभन्दा पहिला त खेल क्षेत्रमा लाग्न घरपरिवारको साथ मिल्दैन । परिवारको साथ पाउँदा पनि फुटबलका गतिविधि निकै कम हुन्छ ।’

कुनै बेला पाँच दर्जनभन्दा बढी महिला रेफ्री भए पनि पर्याप्त अवसर नपाएका कारण अहिले जम्मा चार-पाँच जनामा झरेको उनको बुझाइ छ । आवश्यक सेवासुविधा नभएकै कारण महिला रेफ्रीहरू पलायन भएको उनी बताउँछिन् ।

‘अन्तर्राष्ट्रिय खेलमा महिला रेफ्रीको प्रयोग नगरे पनि घरेलु लिगमा महिलालाई अवसर दिनुपर्छ । हामीसँग पनि उत्तिकै क्षमता छ, हामी पनि पुरुषसरह नै योग्य छौं । सम्बन्धित निकायले ध्यान दिए हामीले पनि आफूलाई प्रमाणित गर्छौ,’ श्रेष्ठले भनिन् ।

कतार विश्वकपमा महिला रेफ्रीको प्रयोगपछि नेपाली फुटबलले पनि त्यसको अनुशरण गर्ने सम्भावना बढेको नेपाल रेफ्री कमिटीका अध्यक्ष बुद्धिबहादुर गुरुङले बताए । यद्यपि त्यसका लागि महिलाले पनि केही प्रक्रिया पूरा गर्नुपर्ने उनको भनाइ छ ।

‘हामी रेफ्रीको ए, बी र सी गरी फरक श्रेणी छुट्याइएको हुन्छ । सामान्यतः महिला र पुरुषको फिटनेस टेस्ट बेग्लाबैग्लै हुन्छ । महिलाको कम र पुरुषको बढी हुन्छ । तर पुरुषको फुटबल खेलाउन त्यहीअनुसार पुरुष सरहकै फिटनेस हुनुपर्छ,’ गुरुङले भने, ‘सँगै महिला रेफ्री स्वयंले हामी ‘ए’ डिभिजन लिग खेलाउन चाहन्छौं भनी अखिल नेपाल फुटबल संघ (एन्फा) मा निवेदन दिनुपर्छ । त्यसपछि हामी उनीहरूको फिटनेस परीक्षा लिएर बाँकी प्रक्रिया पूरा गरी उनीहरूलाई अवसर दिन्छौं ।’