भलिबल एसोसियसन कप

कामनाको टिम माल्दिभ्स पुलिस सेमिफाइनलमा वाम्कोसँग खेल्ने

काठमाडौं । कामना बिष्ट सम्मिलित पुलिस क्लबले माल्दिभ्समा जारी भलिबल एसोसियसन कप २०२२ को सेमिफाइनलमा क्लब वाम्कोसँग प्रतिस्पर्धा गर्नेछ ।

माल्दिभ्सको राजधानी मालेमा जेठ दोस्रो सातादेखि सुरु भएको प्रतियोगितामा कामनाको टिम पुलिस सतप्रतिशत नतिजासहित पोल ‘बी’ को विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । पुलिस र वाम्कोबीचको सेमिफाइनलको पहिलो खेल नेपाली समयअनुसार सोमबार राति १० बजे हुनेछ ।

पुलिसले समूह चरणको अन्तिम खेलमा भलिबल युथ जेनेरेसनलाई ३–१ को सेटमा हराएको थियो । दुई विदेशी खेलाडी भित्र्याएको पुलिसमा कप्तान हावा रासिदा र नेपाली राष्ट्रिय खेलाडी कामना छन् । सो खेलमा कप्तान हावा ‘क्वीन अफ दी म्याच’ घोषित भएकी थिइन् ।

यता, वाम्कोलाई थाईल्यान्डकी अनुभवी खेलाडी पचारापोन सिथिसादको साथ छ ।

यस्तै, सेमिफाइनलको अन्तिम खेलमा मंगलबार क्लब भलिबल र क्लब इगल्सबीच प्रतिस्पर्धा हुनेछ । विदेशी खेलाडीबिनै प्रतियोगितामा सहभागी एकमात्र टोली क्लब भलिबल हो ।

१० टिमको सहभागिता रहेको प्रतियोगिता खेल्नका लागि नेपाली राष्ट्रिय टिमका स्पाइकरद्धय कामना र उषा भण्डारी माल्दिभ्स पुगेका थिए । उषाको टिम दिबेही सिफान्गी भने समूह चरणबाटै बाहिरिसकेको छ । प्रतियोगिताको फाइनल खेल बिहीबार हुनेछ ।