इङ्लिस प्रिमियर लिग

सिटी शीर्ष स्थानमा उक्लियो

लन्डन । इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ । सिटीले प्रिमियर लिगअन्तर्गत शनिबार १० खेलाडीमा सीमित वुल्भ्सलाई ३-० ले पराजित गर्यो ।

पहिलो हाफमा ज्याक ग्रिलिस र एर्लिङ हालान्डले गोल गरेपछि पाहुना टिम सिटीले खेलमा पकड बनाएको थियो ।

खेलको पहिलो मिनेटमै केभिन डि ब्रुयनाको पासमा ग्रिलिसले सिटीलाई अग्रता दिलाएका थिए । १६औं मिनेटमा एर्लिङ हालान्डले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।

वुल्भ्सका नाथन कोलिन्सले ३३औं मिनेटमा रातो कार्डको दर्शन गरेपछि घरेलु टिम १० खेलाडीमा सीमित बनेको थियो ।

यस्तै, ६९औं मिनेटमा फिल फोडेनले सिटीका लागि तेस्रो गोल गरे । फोडेनलाई पनि डी ब्रुयनाले नै पास उपलब्ध गराएका थिए ।

जितसँगै सात खेलबाट १७ अंक जोडेको सिटी शीर्ष स्थानमा उक्लिएको छ । यस्तै, समान खेलबाट ६ अंक जोडेको वुल्भ्स १६औं स्थानमा छ ।

प्रिमियर लिगअन्तर्गत आजै भएका अन्य खेलहरुमा एस्टोन भिल्लाले साउथह्याम्पटनलाई १-० ले, फुलहमले नटिङघम फरेस्टलाई ३-२ ले पराजित गर्यो ।