साफ महिला च्याम्पियनसिप

साफ महिला च्याम्पियनसिपः नयाँ इतिहास कोर्ने लक्ष्यमा नेपाल

काठमाडौं । साफ महिला च्याम्पियसिपअन्तर्गत शुक्रबार दोस्रो सेमिफाइनलमा भारतविरुद्ध मैदान उत्रिँदा नेपाली महिला टिम नयाँ इतिहास कोर्ने लक्ष्यमा हुनेछ ।

चार पटक फाइनल र एक पटक सेमिफाइनलमा प्रतिस्पर्धा गर्दा पनि भारतविरुद्ध  नेपालले साफ च्याम्पियनसिपमा हालसम्म जित निकाल्न सकेको छैन ।

विराटनगरमा सम्पनन भएको पाँचौं संस्करणको फाइनलमा घरेलु मैदान र समर्थकको फाइदा उठाउन नसकेको महिला टिमले यो पटक पनि पुनः सोही अवसरको लाभ उठाउन नसक्ने होकि भन्ने आशंका गरिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल अपराह्न साँढे पाँच बजे सुरु हुनेछ ।

दुवै टिमको लक्ष्य एक–अर्कालाई हराउँदै फाइनलमा स्थान जोगाउने रहने भए पनि नेपालको लक्ष्य भने भारतभन्दा केही फरक हुनेछ । सेमिफाइनलमा फेरी एकपटक दोस्रो पटक प्रतिद्वन्दी पाएको नेपाल २०७३ सालको चौथो साफको इतिहासलाई मेटाउँदै नयाँ इतिहास रच्न चाहन्छ ।

यता भारत पाँच पटकको उपाधि रक्षा गर्दै सोही इतिहासलाई नै दोहोराउने तरखरमा रहनेछ ।

विगतको इतिहासलाई पल्टाएर हेर्ने हो भने नेपालले भारतलाई कडा चुनौती नदिएको हैन । तर, अन्तिम समयमा गएर भारतलाई नतिजा सुम्पिन बाध्य भएको देखिन्छ ।

बंगलादेशमा आयोजना भएको पहिलो संस्करणमा नेपाल १–० को नतिजामा पराजित भएको थियो । दोस्रो, तेस्रो र पाँचौं संस्करणमा क्रमशः ३–१, ६–० र ३–१ को नतिजामा हारेको थियो । चौथों साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतलाई ३–१ को नतिजा सुम्पेको थियो ।

पहिलो पटक दोस्रो संस्करणमा भारतविरुद्ध गोल गर्दा नेपालको लागि दिपा अधिकारीले खेलको तेस्रो मिनेटमा नै गोल गरेकी थिइन् ।

चौथो साफको सेमिफाइनल र पाँचौ संस्करणमा नेपाली स्ट्राइकर साबित्रा भण्डारी (साम्बा) ले एक–एक गोल गरेकी थिइन् ।