दुई वर्षमा विश्वकप गर्ने फिफाको प्रस्ताब पक्षमा नेपालसहित दक्षिण एसियाका चार देश

काठमाडौं, (खेलाडी) विश्व फुटबलको सर्वोच्च निकाय फिफाको प्रत्येक दुई वर्षमा विश्वकप गर्ने प्रस्ताबमाथि दक्षिण एसियाका चार देशले सहमति जनाएका छन् । 

चार वर्षको सट्टा प्रत्येक दुई वर्षमा विश्वकप गर्दा खेलको विकासमा थप योगदान मिल्ने भन्दै दक्षिण एसियाबाट नेपालसहित चार देशले सहमति जनाए । नेपालसहित फिफाको प्रस्ताबका पक्षमा सहमति जनाउनेमा बंगलादेश, माल्दिभ्स र श्रीलंका पनि छन् । 

फिफाको गत मेमा भएको कांग्रेसमै पुरुष तथा महिला दुवैतर्फ प्रत्येक दुई वर्षमा विश्वकप गर्ने विषयमा छलफल भएको थियो । तर युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफए तथा युरोपका शीर्ष क्लबहरुले चर्को विरोध गरेका थिए । 

व्यावसायिक फुटबल उत्कर्षमा रहेको युरोपले विरोध गरे पनि नेपालसहित दक्षिण एसियाका चार देशले आफूहरु फिफाको प्रस्ताबको पक्षमा रहेको भन्दै संयुक्त विज्ञप्ति जारी गरेका छन् । दुई वर्षमा विश्वकप गर्ने पक्षमा फिफाका १ सय ६६ सदस्य देश उभिइसकेका छन् ।

‘चार वर्षको बीचमा विश्वकप गर्ने कुरा पक्कै पनि राम्रो हो । तर यस्तो व्यवस्थामा प्रतिभाको एउटा ठूलो पुश्ताले पाउने अवसर भने निक्कै कम हुन्छ,’ दक्षिण एसियाका चार देशले विज्ञप्तिमा भनेका छन्, ‘एएफसीका वर्तमान सदस्य देशमध्ये एक चौथाईले मात्र पछिल्लो एक सताब्दीमा विश्वकपमा भाग लिएका छन् । फुटबल विकासका लागि यस्तो प्रतियोगिताको महत्वपूर्ण भूमिका हुन्छ ।’

पुरुष विश्वकपमा एसियाली फुटबल महासंघ (एएफसी)अन्तर्गतका देशमध्ये चार टोली सोझै विश्वकपमा छानिन्छन् भने पाँचौं हुने टोलीले अन्तरमहादेशीय प्लेअफमार्फत विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा स्थान खोज्नुपर्छ ।

विश्वकपको आगामी संस्करण अर्को वर्ष कतारमा हुँदैछ ।