सावित्रा भन्डारी

भारत निलम्बनमा पर्दा कीर्तिमानबाट चुकेकी सावित्रा

काठमाडौं । फिफाले अखिल भारतीय फुटबल महासंघलाई अनिश्चित समयका लागि निलम्बित गरेसँगै नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारीले एएफसी वुमन्स क्लब च्याम्पियनसिप खेल्ने पहिलो महिला खेलाडीको कीर्तिमान बनाउनबाट चुकेकी छन् ।

भारतीय आइ लिग क्लब गोकुलम केरला एफसीमा एक सिजनका लागि अनुबन्ध भएकी २६ वर्षीय सावित्रा क्लब च्याम्पियनसिप खेल्नका लागि गत साता पुगेकी थिइन् । सावित्रा नेपाली महिला टिमकी उच्च गोलकर्ता समेत हुन् ।

उज्वेकिस्तानमा अगस्ट २० देखि २६ सम्म हुने वुमन्स क्लब च्याम्पियनसिप खेल्नका लागि सावित्रासहितको टिम सोमबार त्यहाँ पुगेको थियो । तर, मंगलबार बिहान फिफाले तेस्रो पक्षको हस्तक्षेप भएको बताउँदै अनिश्चित समयका लागि भारतलाई निलम्बन गरेको थियो ।

भारत निलम्बनमा परेसँगै उज्वेकिस्तान पुगेको गोकुलम केरला रित्तो हात फर्किनु पर्ने भएको छ । जसको प्रत्यक्ष प्रभाव सावित्रामा पनि परेको हो । नेपाली महिला टिमको कुनै पनि खेलाडीले हालसम्म एएफसी वुमन्स क्लब च्याम्पियनसिप खेल्ने मौका पाएका छैनन् ।