चेल्सी

बार्सिलोनाका निर्देशक र रुडिगरबीच वार्ता

मड्रिड । बार्सिलोनाका निर्देशक माटेउ अलेमेनीले चेल्सीका रक्षक एन्टोनियो रुडिगरसँग वार्ता गरेको पुष्टि गरेका छन् ।

रुडिगरले चेल्सी छोड्ने पुष्टि गरेसँगै उनलाई भित्र्याउन बार्सिलोनासँगै अर्को स्पेनिस क्लब रियाल मड्रिड पनि दौडमा छ । आइतबार वेस्ट ह्यामसँगको जितसँगै चेल्सीका मुख्य प्रशिक्षक थोमस टचेलले रुडिगरको क्लब छोड्ने मनसाय रहेको बताएका थिए ।

चेल्सीमा मालिक रोमन अब्रामोभिच प्रतिबन्धमा परेसँगै रुडिगरको सम्झौता नविकरणमा समस्या भएको टचेलले उल्लेख गरेका थिए । रुसले युक्रेनमाथि सैन्य कारवाही सुरु गरेसँगै बेलायत सरकारले रुसी अर्वपति अब्रामोभिचको सम्पती रोक्का गरेको थियो ।

‘हामीले रुडिगरको एजेन्टसँग वार्ता गरेका थियौं । तर, उक्त भेटमा हामीले अन्य धेरै चीजहरुको बारेमा कुराकानी गरेका थियौं, किनकी उनले (एजेन्ट) ले धेरै खेलाडीहरुको प्रतिनिधित्व गर्छन्,’ क्याटालन जायन्टका निर्देशकले बताए ।