एफए कप

जिन्चेन्कोले पाएको साथ स्वागतयोग्यः ग्वार्डिओला

लन्डन । मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले एफए कपअन्तर्गत म्यानचेस्टर सिटीको कप्तानी सम्हालेका युक्रेनीयन डिफेन्डर ओलेक्जेन्डर जिन्चेन्कोले खेलको दौरान पाएको साथ स्वागतयोग्य रहेको बताएका छन् ।

मंगलबार राति एफए कपअन्तर्गत पिटरबर्ग युनाइटेडविरुद्धको खेलमा सिटीले कप्तानीको जिम्मेवारी जिन्चेन्कोलाई दिएको थियो । उक्त खेलमा सिटीले पिटरबर्गमाथि २–० को जित निकालेको थियो ।

बिहीबार युक्रेनमाथि रुसले सैन्य आक्रमण गरेपछि सिटीका पूर्व कप्तान फर्नान्डिहोले २५ वर्षका जिन्चेन्कोलाई कप्तानको आर्मब्यान्ड दिएर युक्रेनप्रति ऐक्यबद्धता रहेको देखाएका थिए ।

‘यो समय जिन्चेन्को उसको परिवार, देशको लागि सहज अवस्था होइन तर, उसले यो समयमा फुटबल खेल्नु नै राम्रो हो,’ ग्वार्डिओलाले भने, ‘दुर्भाग्यवस, अहिले युक्रेनका जनता डरमा र निकै भयावह अवस्थामा छन् । हामी यहाँ समर्थकहरुका लागि मात्र नभई जिन्चेन्को साथमा रहेको देखाउन आएका हौं ।’