राष्ट्रिय महिला लिग छनोट

कर्णालीले राष्ट्रिय महिला लिग छनोटमा सहभागीको आवास खर्च ब्यहोर्ने

काठमाडौं । आगामी बैशाख ७देखि सुर्खेतमा हुने राष्ट्रिय महिला लिग छनोटमा सहभागी हुने टोली तथा पदाधिकारीहरुको आवास खर्च कर्णाली खेलकुद विकास परिषद्ले ब्यहोर्ने भएको छ ।

त्यसका लागि अखिल नेपाल फुटबल संघ ( एन्फा)ले कर्णाली खेलकुद विकास परिषद्सँग सम्झौता गरेको छ । एन्फा महासचिव किरण राई र कर्णाली खेलकुद विकास परिषद्का सदस्यसचिव विश्वमित्र सञ्ज्यालले सम्झौतामा हस्ताक्षर गरे ।


हस्ताक्षर समारोहमा एन्फाका केन्द्रिय सदस्य रोविन चन्द, कर्णाली प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमाल, सुर्खेत जिल्ला फुटबल संघका पूर्वअध्यक्ष जनक रावललगायतको उपस्थिति रहेको थियो ।

छनोट प्रतियोगितामा सातवटै प्रदेशका टोली सहभागी छन् । यस प्रतियोगिताका शीर्ष तीन टोलीले राष्ट्रिय महिला लिगमा स्थान बनाउनेछन् ।