एसियन च्याम्पियन्स लिग

क्वार्टरफाइनलबाटै बाहिरियो अल नासर

काठमाडौं । युएईको क्लब अल ऐनसँग पेनाल्टी सुटआउटमा ३-१ ले पराजित भएसँगै साउदी अरेबियाको अल नासर एसियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।

घरेलु मैदान अल अवाल रंगशालामा सोमबार सम्पन्न दोस्रो लेग अल नासरले ४-३ ले आफुनो पक्षमा पारे पनि समग्रमा ४-४ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको हो । पहिलो लेगमा अल ऐन १-० ले विजयी भएको थियो ।

पेनाल्टीमा अल नासरका कप्तान किस्टियानो रोनाल्डोको प्रहार मात्र गोलमा परिणत भयो । मार्सेलो ब्रोजोभिच, एलेक्स टेलेस र ओटिभो चुके । अल ऐनका लागि सोउफिअन रहिमी, अलेक्सजान्द्रो रोमेरो र सुल्तान अल शाम्सीले गोल गरे ।

त्यसअघि खेलमा अल नासरका लागि अब्दुलरहमान घारीब, एलेक्स टेलेस र क्रिस्टियानो रोनाल्डाले गोल गर्दा एक गोल आत्मघाती उपहार स्वरुप प्राप्त भयो । अल ऐनका लागि सोउफिअन रहिमीले दुई र सुल्तान अल शाम्सीले गोल गरे ।

खेलको २८औं मिनेटमा रहिमीको गोलमार्फत अल ऐनले अग्रता लिएको थियो । ४५औं मिनेटमा उनैले टोलीको अग्रता दोब्बर बनाए ।

पहिलो हाफको इन्जुरी समयमा घारीबले गोल गर्दा खेल २-१ को स्थितीमा आयो । ५१औं मिनेटमा खालिद इसाबाट आत्मघाती गोल हुन पुग्दा अल नसारले खेल २-२ को बराबरीमा पुग्यो ।

७२औं मिनेटमा टेलेसले गोल गर्दा खल नासर ३-२ ले अगाडि बढ्यो । त्यसपछि गोल निस्कन नसक्दा समग्रमा ३-३ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

९८औं मिनेटमा आयमन याह्याले रातो कार्ड ब्यहोर्दै मैदान छाडेपछि अल नसार १० खेलाडीमा समेटियो । १०३ मिनेटमा शाम्सीले गोल गर्दै खेललाई ३-३ को बराबरीमा ल्याए ।

११८औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै अल नासरलाई ४-३ को जित दिलाए पनि समग्रमा ४-४ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटसम्म पुगेको थियो ।