नेपाली फुटबल

राष्ट्रिय महिला फुटबल टोली सम्मानित

काठमाडौं । वाफ महिला च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोली सोमबार नगदसहित सम्मानित भएको छ ।

लोयल्टी एकेडेमीले वाफ महिला च्याम्पियनसिपको उपविजेता २३ खेलाडी र आठ अफिसियललाई सम्मान गरेको हो । 

उनीहरूलाई नेपाली कांग्रेसका महामन्त्री गगन थापा, पूर्व मन्त्री सीता गुरुङ र लोयल्टीका संस्थापक निर्देशक विजय साम्बाहाम्फेले सम्मानपत्र र नगदसहित सम्मान गरे । लोयल्टीले टोलीलाई ३ लाख ६१ हजार ८०० रुपैयाँ प्रदान गर्यो ।

महिला दिवस अवसर पारेर विद्यालयले महिला सशक्तिकरण र प्रोत्साहन गर्ने उद्देश्यअनुरूप महिला फुटबलरलाई सम्मान गरेको लोयल्टीका प्रिन्सिपल वीरेन्द्र कुरुम्वाङले जनाएका छन् ।

लोयल्टीले वाफ च्याम्पियनसिप खेल्ने प्रत्येक खेलाडीलाई जनही १० हजार र हरेक गोलबापत थप पाँच हजार रुपैयाँ प्रदान गरेको हो ।

सो प्रतियोगितामा नेपालकी साबित्रा भण्डारी सर्वाधिक नौ गोल गरेकी थिइन् । विद्यालयले साबित्रालाई ५५ हजार रुपैयाँसहित सम्मान गर्यो । रेखा पौडेल र गीता रानले दुई गोल गरेका थिए । उनीहरुले जनही २० हजार पाए ।

यसैगरी एक गोल गरेका अनिता बस्नेत, प्रीति राई, सबिता रानमगर र अमिशा कार्कीले जनही १५ हजार प्राप्त गरे ।

टोलीका प्रशिक्षक राजेन्द्र तामाङ, सहायक प्रशिक्षक उज्वल मानन्धर र कमल रखाल, गोलकिपर प्रशिक्षक उज्वल मानन्धर, फिजियोथेरापिस्ट नवीना श्रेष्ठ, अफिसियल सरिला श्रेष्ठ मलेखु, टोली प्रमुख पेमा डोल्मा लामालाई पनि जनही ५ हजार १०० रुपैयाँसहित सम्मान गरिएको थियो ।

सो अवसरमा पूर्वमन्त्री  थापाले पछिल्ला समय नेपालमा महिला फुटबलले सफलता पाइरहेको उल्लेख गर्दै यो सफलताले आममानिसलाई पनि खुसी मिल्ने आशा व्यक्त गरे । उनले खेलाडी बनेर नेपालमा केही गर्छु भन्न कठिनाई रहेको अवस्थामा नेपाली महिला खेलाडीको यो सफलता साह्रानीय रहेको धारणा राखे ।


गत फेब्रुअरी २९ मा साउदी अरेबियामा सम्पन्न वाफ च्याम्पियनसिपको फाइनलमा नेपाल जोर्डनसँग पेनाल्टी सुटआउटमा ५–३ ले पराजित हुँदा उपाधिविमुख भएको थियो ।