भारतीय महिला लिग

सेथु एफसीको सहज जित

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा र रक्षक गीता रानासम्मिलित सेथु एफसीले भारतीय महिला लिगमा स्पोर्टस ओडिशामाथि ३-० को सहज जित निकालेको छ ।

क्यापिटल फुटबल एरिनामा शनिबार सेथुलाई जित दिलाउन मल्भिका पी, काभिया पकिरीसामी र काजोल डी’सुजाले गोल गरे ।

खेलको १९औ मिनेटमा माल्भिकाको गोलमार्फत सेथुले अग्रता लिएको थियो । २७औं मिनेटमा काभियाले टोलीको अग्रता दोब्बर बनाइन् ।

काजोलले ६६औं मिनेटमा गोल गर्दै सेथुलाई ३-० को सहज जित दिलाइन् ।

एन्जिला र गीताले पहिलो रोजाइमै खेलेका थिए । गीताले ८४औं मिनेटमा मैदान छाड्दा एन्जिलाले पूरै समय खेलिन् ।