प्रवीण घले स्मृति कप

प्रवीण घले स्मृति कपः रोयल फ्यामिली च्याम्पियन

सिन्धुपाल्चोक । रोयल फ्यामिली चौतारा प्रथम प्रवीण घले स्मृति कप तथा मुग ल्हो ल्होसार खुला सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

चौतारा टुँडिखेलस्थित मिनी रंगशालामा सोमबार सम्पन्न फाइनलमा रोयलले बाह्रदेवी युवा क्लब बाह्रबिसेलाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गरेको हो ।

निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि उपाधिको छिनोफानो पेनाल्टी सुटआउटबाट गरिएको हो। उपाधिसँगै रोयलले १ लाख ५१ हजार १ सय ५१ रुपैयाँ, ट्रफी र मेडल हात पर्यो । उपविजेता बाह्रदेवीले ७५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्यो ।

प्रतियोगितामा विजेता रोयल्सबम सुनिल घले सर्वोकृष्ट खेलाडी घोषित भए । रोयल कै नीवन सिलवाल उत्कृष्ट गोलकिपर, सतिश सुवाल, सुरजज्यु ठकुरी उत्कृष्ट मिडफिल्डर तथा तीन गोल गर्दै  मेलचौर युवा जागरण समाजका सुरुज लामा  सर्वाधिक गोलकर्ता बने । उनीहरुले जनही ५ हजार रुपैयाँ सहित ट्रफी मेडल प्राप्त गरे।

बाह्रदेवी गाती युवा क्लबलाई र रोयल सिन्धुपाल्चोक फुटबल क्लब लामेसाँघुलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए ।  

 समापन समारोहमा बागमती प्रदेशका भौतिक तथा पूर्वधार विकासमन्त्री युवराज दुलाल प्रमुख अतिथि रहेका थिए। उक्त समारोहमा चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सीता थापासहित अन्य राजनीतिक दलका प्रतिनिधिको सहभागिता  थियो।

समापन समारोहमा आयोजक लिलफुङ घले समाज सिन्धुपाल्चोक जिल्ला कार्यसमितिले र्यालीसहित विभिन्न विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो।

स्वर्गीय प्रवीण घले चौताराका समाजसेवी थिए। स्थानीय वनदेवी माविको अध्यक्ष रहेकै बखत जटिल रोगका कारण केही वर्षअघि उनको निधन भएको थियो। २०७४ को स्थानीय निर्वाचनमा चौतारा ५ को वडा सदस्यमा निर्वाचित भएका घलेले केही समय कार्यवाहक अध्यक्षको जिम्मेवारी पनि निर्वाह गरेका थिए। उनकै सम्झनामा यस प्रतियोगिताको आयोजना गरिएको हो।

पुस २४ सुरु भएको प्रतियोगितामा १६ टोलीले सहभागिता जनाएका थिए।