एनएसएल

चितवनमा स्पेनिस रक्षक

काठमाडौं । एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि स्पेनिस रक्षक इभान गोन्जालेजलाई अनुबन्ध गरेको छ ।

क्लबले सामाजिक सञ्जालमार्फत गोन्जालेजलाई अनुबन्ध गरेको जनाएको हो । रियाल मड्रिडको युवा टोलीको प्रतिनिधित्व गरिसकेको गोन्जालेजले भारतीय क्लब एफसी गोवा र इस्ट बंगाल फुटबल क्लबबाट पनि खेलिसकेका छन् ।

गोन्जालेज चितवन भित्रिने तेस्रो विदेशी खेलाडी हुन् । यसअघि क्लबले घानाका फरवार्डद्धय टोरिक जेब्रिन र रफिक अमिनोलाई अनुबन्ध गरिसकेको छ ।

चितवनले मछिन्द्र फुटबल क्लबका कप्तान तथा गोलकिपर विशाल श्रेष्ठलाई मार्की खेलाडीको रूपमा अनुबन्ध गरेको थियो । यसैगरी क्लबले मुख्य प्रशिक्षकका रूपमा भारतका खालिद जामिललाई भित्र्याएको छ ।

चितवनको आइकोनिक खेलाडीमा विमल घर्ती मगर छन् । 

गत सिजन खेलेको विराटनगर सिटी एफसीले नाम फिर्ता लिएपछि यसपटक ९ टोलीले दोस्रो संस्करण खेल्नेछन् । मंसिर ८ गतेबाट सुरु हुने प्रतियोगिताको उद्धघाटन खेल काठमाडौं रेजर्स र स्पार्टिङ इलामबीच हुनेछ ।

फाइनल खेल पुष १४ मा हुने तालिका छ । पहिलो संस्करणका साबिक विजेता काठमाडौं, उपविजेता धनगढी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, ललितपुर सिटी एफसी, बुटबल लुम्बिनी एफसीसँगै नयाँ टोली इलाम एफसी, वीरगञ्ज युनाइटेड एफसी र झापा एफसीले प्रतिस्पर्धा गर्नेछन् ।