नेपाली फुटबल

एन्फा आपतकालिन बैठक बस्दै, दुबै पक्षको आ–आफ्नै कसरत

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को  आपतकालिन कार्यसमिति बैठक आज बस्दैछ । अहिले ११ बजे कार्यसमिति सदस्यलाई पत्र लेख्दै महासचिव किरण राईले बैठकमा उपस्थित हुन अनुरोध गरेका छन् ।

अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव राईलाई एन्फा ४९ बहुमत सदस्यले हस्ताक्षर गर्दै बर्खास्तगीको माग राखेकै समय एन्फा आपतकालिन बैठक बोलाइएको हो । अध्यक्ष नेम्बाङ र महासचिव राईविरुद्ध अविश्वास प्रस्ताव एन्फामा निवेदन दर्ता भएको चार साता भएपछि नेतृत्वले कार्यसमिति बैठक आह्वान गरेको हो ।

‘एन्फाको विधान २०७७ संस्करणको धारा ३९ ९२० वमोजिम विशेष परिस्थितिमा अध्यक्षले कार्यसमितिको आपतकालिन बैठक बोलाउन सक्ने प्रावधान अनुरुप उपस्थितिको लागि निर्देशानुसार हार्दिक अनुरोध गर्दछु,’ महासचिव राईले हस्ताक्षर गरेको पत्रमा भनिएको छ । बैठक बिना एजेन्डा बोलाइएको छ ।

कार्यसमिति सदस्य तथा कानुन समितिका संयोजक अनिल मल्लले अध्यक्ष र महासचिवको निलम्बन भइसकेको अवस्थामा बैठकको बैधानिकतामाथि नै प्रश्न तेर्साएका छन् ।

यसैबीच आ–आफ्नो पक्षमा कोरम पुर्याउन संस्थापक पक्ष र संस्थापक इतरपक्षबीच ठूलो रस्साकस्सी चलेको छ । एक पक्ष कार्यसमिति बैठकमा कोरम पुर्याउन नदिने पक्षमा छ । अर्काे पक्ष जसरी हुन्छ कोरम पुर्याएर बैठक अगाडी बढाउन चाहन्छ । २१ सदस्यीय एन्फा कार्यसमितिमा बहुमत पुर्याउन ११ सदस्यको हस्ताक्षर हुनुपर्नेछ ।

अध्यक्ष नेम्बाङको राईको साहयतामा उपाध्यक्षद्वय दावा लामा, दीपक खतिवडा, सदस्यहरु पुरुषोत्तम थापा, महेन्द्र क्षेत्री, भरतबुढ थापा लगायतलाई आफ्नो समूहमा पारेका छन् ।

यस्तै, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित उपाध्यक्षद्वय विराटजंग शाही र दीर्घबहादुर केसी एउटा समूहमा छन् । यो समूहबाट सदस्यहरु रुपेश अधिकारी, रविन चन्द, रमेश ब्यञ्जनकार, पेमा लामा, भोजराज शाही, मणिराज विष्ट र अनिल मल्ल लगायत बैठकमा उपस्थित नहुने दाबी गरेका छन् ।

मनिष जोशीको भने हालसम्म कुन समूहमा खुलेका छैनन् । दुबै पक्षले आफूलाई सहयोग गर्ने आशा गरेका छन् ।

यसअघि २५ भदौंमा तीन डिभिजन लिग र जिल्ला संघले संयुक्त हस्ताक्षर गर्दै अध्यक्ष नेम्बाङ र महासचिव राईविरुद्ध अविश्वासको प्रस्ताव एन्फामा निवेदन दर्ता गरेका थिए ।

उनीहरुले विहान मेलमार्फत अविश्वासको प्रस्ताव दर्ता गर्दा नै दुबै निलम्बनमा परेको भन्दै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई कार्यलयमै भेटेर अविश्वासको प्रस्ताव बुझाएका हुन् ।