नेपाली फुटबल

न्यौपानेले दिए राजीनामा, आर्मीको टिम केसीले सम्हाल्ने

फाइल फोटो

काठमाडौं । अर्को महिना भारतमा हुने डुरान्ड कप फुटबल प्रतियोगिता नेपालको तर्फबाट सहभागिता जनाउने नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लबले मेघराज केसीको नेतृत्वमा खेल्ने भएको छ ।

पछिल्ला केही वर्षयता मुख्य प्रशिक्षकको हैसियतमा आर्मीको टोलीलाई नेतृत्व गरिरहेका पूर्व राष्ट्रिय खेलाडी नवीन न्यौपानेले राजीनामा दिएपछि केसी दोस्रो पटक सेनाको विभागीय टोलीसँग जोडिएका हुन् । न्यौपानेले क्लबसँगको सहमतीमा राजीनामा दिएको बताइएको छ ।

एक महिनाअघि सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगमा केसी थ्री स्टार क्लबमा थिए ।

भारतको सबैभन्दा पुरानो फुटबल प्रतियोगितामध्येको एक डुरान्ड कपको १ सय ३२ औं संस्करण २४ टोलीको सहभागितामा आगामी अगस्ट ३ देखि सेप्टेम्बर ३ सम्म चल्नेछ । प्रतियोगिताका खेलहरु कोलकाता, गुवाहटी र कोक्राझारमा हुनेछन् ।

प्रतियोगितामा त्रिभुवन आर्मीसहित दुई विदेशी टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगितामा २७ वर्षपछि विदेशी टोलीले सहभागिता जनाउने लागेका हुन् । यसपटक विदेश टोलीका रुपमा बंगलादेश आर्मीले पनि सहभागिता जनाउनेछ ।

प्रतियोगितामा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । जसबाट प्रत्येक समूहका विजेता र दुई उत्कृष्ट उपविजेताले क्वार्टरफाइनलमा स्थान बनाउनेछन् ।

समूह ‘ए’, ‘बी’ र ‘सी’ का खेलहरु कोलकातामा हुनेछन् । प्रतियोगिताको फाइनल पनि कोलकाताकै पवित्र विवेकानन्द युवा भारती क्रिरांगन रंगशालामा हुनेछ ।  

समूह ‘डी’ र समूह ‘इ’ का २ बाहेक अन्य खेल गुवाहाटीको इन्दिरा गान्धी रंगशालामा खेलाइने छ ।

कोक्राझारको साई सेन्टर मैदानमा समूह ‘इ’ कार २ र समूह ‘एफ’ का खेलका खेल हुनेछन् ।

प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले ३० लाख भारतीय रुयिया (भारु) प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगितामा गेल्डेन बल, बुट र ग्लोभ जित्नेलाई जनाही ३ लाख भारु प्रदान गरिने छ ।