एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग

हेल्प नेपाल लगातार तेस्रो खेलमा विजयी

फाइल फोटो

काठमाडौं । हेल्प नेपाल स्पोर्टस क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुषतर्फ लगातार तेस्रो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा मंगलबार सम्पन्न खेलमा  हेल्प नेपालले गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

हेल्प नेपालले  खेल २५-२२,२५-१७ र २८-२६ ले आफ्नो पक्षमा पारेको हो ।

जितसँगै हेल्प नेपालले ३ खेलमा ९ अंक जोडेको छ । लगातार चौथो पराजय ब्यहोरेको गण्डकीको १ अंक छ ।

हेल्प नेपालले यसअघि शैलङ्ग बागढुङ्गा स्पोर्टस क्लब र दावाँली मिलन क्लबलाई समान ३-० को सोझो सेटमा हराएको थियो । गण्डकी नेपाल पुलिससँग ३-२, नेपाल एपिएफसँग ३-१ र त्रिभुवन आर्मी क्लबसँग ३-० को सेटमा पराजित भएको थियो ।

अब हेल्प नेपालले बुधबार पुलिस तथा गण्डकीले बिहीबार शैलुङ्ग बागढुङ्गाको सामना गर्नेछन् ।

महिलातर्फ मंगलबार नै सम्पन्न खेलमा एपिएफले एभरेस्टमाथि ३-० र न्यू डायमन्ड युथ स्पोर्टस क्लबले त्रिभुवन आर्मी क्लबमाथि ३-२ को सेटमा जित निकाले ।

यसैगरी पुरुषतर्फ नेपाल पुलिस क्लबले  दावाँली  मिलनलाई ३-० काे सोझो सेटमा हराएकाे थियाे । 

मंगलबारको अन्तिम खेलमा एपिएफले शैलुङ्ग बागढुङ्गाको सामना गर्नेछ।