स्पेनिस ला लिगा

अहिले नै बार्सिलोना छाड्ने इच्छा छैनः डि जोङ

 काठमाडौं । डच मिडफिल्डर फ्रेन्की डि जोङले अहिले नै स्पेनिस क्लब बार्सिलोना छोड्ने इच्छा नरहेको बताएका छन् ।

२५ वर्षीय मिडफिल्डर डि जोङको नाम इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग जोडिएको थियो । युनाइटेड गएको जनवरी ट्रान्सफर विन्डोमै डि जोङलाई भित्र्याउने प्रयास गरे पनि सफल हुन सकेको थिएन ।

युनाइटेडले जुलाई ट्रान्सफर विन्डोमा पुनः डि जोङ भित्र्याउने योजनालाई अगाडी बढाउन सक्ने विभिन्न सञ्चारमाध्यमले बताएका छन् । आर्थिक समस्याबाट गुज्रिरहेको बार्सिलोना पनि डि जोङलाई अन्य क्लबमा पठाउन चाहन्छ ।

डि जोङले बार्सिलोनासँगको सम्झौता सन् २०२६ सम्म रहेकाले क्याम्प नोउ छोड्ने आफ्नो कुनै मनसाय नभएको स्पष्ट पारेका छन्।

‘म शान्त थिएँ किनभने मलाई थाहा थियो कि म बार्सिलोनमै बस्न चाहन्छु र मैले मेरो मन परिवर्तन गरेको छैन,’डि जोङले भने,‘ मैले सधैं बार्सिलोनाबाट खेल्ने सपना देखेको थिएँ र म यहीँ सफल हुन चाहन्छु।’

सन् २०१९ मा डच क्लब आयाक्सबाट बार्सिलोनामा आएका डि जोङले क्लबसँगै आफूले धेरै कुरा हासिल गर्न बाँकी रहेको बताए।

डि जोङले भने, ‘मैले कहिल्यै ला लिगा जितेको छैन । यो यहाँ मेरो चौथो वर्ष हो र अहिले त्यसको निजक छु । तर अझै धेरै लामो यात्रा गर्न बाँकी छ। यो हाम्रो मुख्य लक्ष्य हो र हामी यसलाई प्राप्त  गर्न आफ्नो शतप्रतिशत दिनेछौं।’

डि जोङले जारी सिजन बार्सिलोनाका २४ ला लिगा खेल मध्ये १८ मा पहिलो रोजाइमा रहेर खेलेका छन् । शीर्ष स्थानको बार्सिलोनाले साबिक विजेता रियाल मड्रिडसँग ९ अंकको अग्रता लिएको छ ।

डि जोङले बार्सिलोनाका लागि एक सय १० लिग खेलमा १० गोल गरेका छन् ।