नेपाली महिला फुटबल

एन्फाको वक्रदृष्टिमा महिला फुटबल

काठमाडौं । सिनियर महिला राष्ट्रिय टोली गत महिना दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल्नका लागि भारत जाने तयारीमा थियो । बिदाइ कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले महिला खेलाडीलाई शुभकामना दिँदै भनेका थिए, ‘तपाईंहरूबाट धेरै आशा गरेका छौं, महिला फुटबलमा नेपालले धेरै प्रगति गरिरहेको छ र हाम्रो बैठक बस्दै छ तपाईंहरु फर्कंदासम्म महिला लिगबारे हामी महत्त्वपूर्ण निर्णय गर्दैछौं ।’

नेपाली महिला टोलीले भारतविरुद्ध एक खेलमा २-२ को बराबरी निकाल्यो भने अर्को खेल गोलरहित बराबरीमा टुंग्यायो । घरेलु मैदानमा हुने ओलम्पिक छनोटको तयारीका लागि नेपाली महिला फुटबल टोलीको मनोबल उच्च राख्न बलियो मानिएको भारतसँगको दुई खेलको नतिजा अर्थपूर्ण बन्न सक्छ ।

‘वरिष्ठ उपाध्यक्षले सार्वजनिक कार्यक्रममै महिला फुटबलका लागि सुखद योजना सुनाउँछौं भन्नुभाथ्यो,’ एक महिला फुटबलरले गुनासो गरिन्, ‘तर उहाँहरुले त लिग नै बीचमै अन्त्य गरिदिनुभएछ । यही होला उहाँहरुको ठूलो सफलता । महिला फुटबललाई सधैं हेपिन्छ । जबकि हामीले एकपछि अर्को सफलता दिलाइरहेका छौं ।’

तर, महिला खेलाडीका लागि एन्फाले गत साता सम्पन्न विवादित कार्यसमिति बैठकबाट आश्यर्चजनक निर्णय गर्यो । तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा राष्ट्रिय महिला लिगको पहिलो लेग एक वर्षअघि चैतमा चितवनमा सम्पन्न भएको थियो । दोस्रो लेग वैशाखमा विराटनगरमा गरिने तालिका थियो ।

चुनावी साधारणसभाका कारण उक्त लिग छायाँमा गर्यो । असारमा पंकजविक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित भएर आएपछि उक्त लिगको दोस्रो चरण हुनेमा महिला खेलाडी र क्लबहरु विश्वस्त थिए । तर, फुटबल विकासमा युगान्तकारी परिवर्तन गर्ने ‘खोक्रो’ नारा घन्काएका नेम्वाङ नेतृत्वले महिला फुटबललाई खासै अर्थ दिएन । त्यसो त पुरुष तथा अन्य उमेर समूहको प्रतियोगितामा पनि नेम्वाङ नेतृत्व प्रभावकारी ढंगले अघि बढ्न सकेको छैन ।

एन्फाका वरिष्ठ उपाध्यक्षले सार्वजनिक कार्यक्रममै बोलेको कुरा पूरा नहुनु दुखद पक्ष भएको खेलाडीहरुको गुनासो छ ।

‘वरिष्ठ उपाध्यक्षले सार्वजनिक कार्यक्रममै महिला फुटबलका लागि सुखद योजना सुनाउँछौं भन्नुभाथ्यो,’ एक महिला फुटबलरले गुनासो गरिन्, ‘तर उहाँहरुले त लिग नै बीचमै अन्त्य गरिदिनुभएछ । यही होला उहाँहरुको ठूलो सफलता । महिला फुटबललाई सधैं हेपिन्छ । जबकि हामीले एकपछि अर्को सफलता दिलाइरहेका छौं ।’

एक त अर्को कुनै योजना नल्याउने र भएको प्रतियोगिता पनि विभिन्न बहानामा बीचमै टुंग्याएपछि महिला फुटबल कसरी विकास हुन्छ भन्दै ती खेलाडीले प्रश्न गरिन् । यो त क्लब र खेलाडीमाथिको अन्याय भएको उनको ठम्याइ छ ।

‘आफ्नो स्वार्थका लागि महिला फुटबललाई प्रयोग गरिएको छ र यो दुखद हो,’ उनले निराशा व्यक्त गरिन् ।

आफ्ना पोल्टाको मान्छे नियुक्तिका लागि राखिएको बैठकबाट महिला फुटबलका लागि अपमानजनक ढंगको निर्णय आएको बुझाइ महिला खेलाडीवृत्तमा छ ।

रोकिएको महिला लिग त्यसै समापन हुने र पहिलो चरण समाप्तिमा शीर्षस्थानमा रहेकै टोली विजेता हुने निर्णय गरिएको थियो । त्यसबाट साबिक विजेता एपिएफ क्लबले उपाधि रक्षा गर्ने अवसर पाएको छ । 

उक्त विवादित निर्णय पनि पुरुष राष्ट्रिय फुटबल टोलीमा मुख्य प्रशिक्षक नियुक्तिले छायाँमा पर्यो ।

विवादित बनेको कार्यसमितिको निर्णय सायद सञ्चारमाध्यममा कमै आएको महसुस गरेरै होला, आइतबार बिहान एन्फामा आयोजक एएफसी यू-२० महिला एसियन कप छनोट २०२४ मा भाग लिन प्यालेस्टाइन जाने महिला खेलाडीलाई उनै खड्का र महासचिव किरण राईले महिला फुटबल विकासमा लागि एन्फा गम्भीर छ र महिला फुटबल टोलीबाट ठूलो आशा छ भन्ने रटान दोहोर्याउन पछि परेनन् ।

यसमा उनीहंरुलें एउटा मसला थप्न भ्याए, ‘नेपालको महिला फुटबल टोलीले एकपछि अर्को सफलता निकालिरहेको छ, स्तर बढेको छ, तपाईंहरुले एक दिन विश्वकप खेल्नुहुन्छ भन्नेमा हामी आशावादी छौं ।’

वरिष्ठ उपाध्यक्ष खड्काले फेहरिस्त सुनाए, ‘हामीले महिला  फुटबलमा एकपछि अर्को सफलता पाएका छौं । हालै भारतविरुद्धको दुई मैत्रीपूर्ण खेल बराबरी खेल्यौं । नेपालले साफ यु-१५ महिला च्याम्पियनसिपको उपाधि जित्यो भने साफ यु-२० मा उपविजेता बन्यो । अब छिट्टै पेरिस ओलम्पिकका लागि हामीले छनोट चरण आयोजना गर्दैछौं ।’

एन्फाले महिला फुटबलमा किन लगानी बढाएर भनेर प्रश्न उठिरहेको विषयप्रति एन्फा गम्भीर रहेको उनको दाबी थियो । थपे, ‘बैठकमा यसबारे धेरै गम्भीर छलफल भयो । हामीले अर्को वर्षदेखि नेपालमै पहिलो पटक महिला फुटबल एकेडेमी सञ्चालन गर्ने निर्णय गरेका छौ । कुन उमेर समूहका खेलाडीलाई एकेडेमीमा राख्ने भन्नेबारे छलफल चलिरहेको छ । यसले नेपाली महिला फुटबललाई टेवा पुर्याउने छ ।’

‘महासचिवले भनेजस्तो भविष्यमा एकेडेमीबाट उत्पादित खेलाडीको टिमले विश्वकप खेल्न सक्छ वा तपाईहरुले खेल्न सक्नुहुन्छ’ भन्दै युवा खेलाडीलाई वरिष्ठ उपाध्यक्ष खड्काले आश्वासन बाँडे ।

महिला फुटबलका लागि घरेलु प्रतियोगिता गर्न झन्झट र आर्थिक अभावको बहाना बनाउने वर्तमान एन्फा नेतृत्व महिला फुटबल गतिविधिका लागि अन्तर्राष्ट्रिय सहभागितामै मात्र सीमित छ ।

लामो समय महिला राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सम्हालिसकेका कुमार कटुवाल एन्फा गम्भीर नबन्दासम्म महिला फुटबलको विकास हुन नसक्ने बताउँछन् ।

‘खोइ हामीसँग महिला फुटबलको ठोस योजना ?,’ कटुवालले भने, ‘जबसम्म महिला फुटबलमा लगानी गरि‘दैन, तबसम्म अघि बढ्न सक्दैन । अन्तर्राष्ट्रिय प्रतियोगिता मात्र खेलाएर हुन्छ, घरेलु फुटबलको संरचना बनाउनुपर्छ । घरेलु फुटबलको जग बसाएपछि मात्र अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले सफलतालाई निरन्तरता दिन सक्छ ।’

फिफाको अन्तर्राष्ट्रिय ब्रेकमा खेलिएका अन्तर्राष्ट्रिय खेलहरुका लागि आवश्यक आर्थिक अनुदान पनि फिफा र एएफसीबाटै आउने भएकाले एन्फाले घरेलु भन्दा अन्तर्राष्ट्रिय खेललाई बढि जोड दिएको बुझ्न कठिन छैन । आफैले आर्थिक जोहो गर्नुपर्ने घरेलु गतिविधिमा माखो नमार्ने एन्फाले आफ्नो अकर्मण्यता छोप्न अन्तर्राष्ट्रिय खेलहरुको पर्दा लगाउन खोजेको महिला फुटबलका सरोकारवालाहरुको बुझाई छ ।

आवश्यक लगानी गर्न अटेर गर्ने अनि महिला फुटबलमा युगान्तकारी योजना ल्याउँयौं, विश्वकप खेल्छौं भन्ने जस्ता आश्वासन दिन नमिल्ने उनको तर्क छ ।

साफ महिला च्याम्पियनसिपको उपाधि जित्नु नै नेपालका लागि कठिन चुनौती ठान्छन् पूर्व प्रशिक्षक कटुवाल । त्यो जितेपछि मात्र अन्य ठूला सपना देख्न सकिने उनको जिकिर छ ।

एन्फाले गत चैतमा महिला लिगको पहिलो चरण आयोजना गरेको थियो । त्यसयता एन्फा स्वयंले महिला फुटबलका कुनै कार्यक्रम गरेको छैन । पुरुष फुटबलमा मोफसलका प्रतियोगिता आयोजना हुँदै आए पनि महिला खेलाडीका लागि भने लिगको छनोट र लिग नै आफ्नो क्षमता देखाउने थलो हो ।

तर, एन्फा नेतृत्व गम्भीर नबन्दा महिला फुटबलको विकासमा देखिएको सुस्त गतिले निरन्तरता पाउने पक्का छ ।

नेपालले यसबीच भदौमा साफ महिला फुटबल च्याम्पियनसिप आयोजना गर्यो । जहाँ नेपालले फाइनलमा बंगलादेशलाई नतिजा सुम्पियो । त्यसयता नेपालले साफकै महिला यु-१५ र यु-२० च्याम्पियनसिप खेल्यो । साफ यु-१५ च्याम्पियनसिप जितेको नेपालले यु-२० भने उपविजेता बन्नुपरेको थियो । त्यस्तै नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्यो । जहाँ बराबरीको नतिजा आयो ।

हाल यु-२० टोलीले प्यालेस्टाइनमा जारी एएफसी यु-२० महिला एसियन कप छनोटमा प्रतिस्पर्धा गरिरहेको छ । घरेलु टोली प्यालेस्टाइनलाई ६-० ले पराजित गरेर सुखद सुरुआत गरेको छ ।

अन्तर्राष्ट्रिय सहभागितामा आफूलाई आर्थिक भार नपर्ने देखेर निरन्तर सहभागिता जनाइरहेको एन्फा घरेलु प्रतियोगिता आयोजना गर्नबाट भने चुकिरहेको छ । यद्यपि खेलाडीहरूले भने कमजोर तयारीका बावजुद पनि सफलता हासिल गरिरहेका छन् ।