काठमाडौं । । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले क्लबहरू तयार भए शीर्ष डिभिजन लिग खेलाउन कुनै समस्या नहुने बताएका छन् ।
युवा तथा खेलकुद मन्त्रीले मंगलबार बोलाएको सरोकारवालासँगको छलफलमा महासचिव राईले भने,‘ हामीले होम एन्ड अवेको प्रस्ताव गरेका थियौं । त्यसमा क्लबहरूले १४ महिनाको समय मागेपछि यसबीचमा फुटबललाई चलायमान बनाउनु पर्छ भन्ने हेतुले उहाँहरूकै सल्लाहमा राष्ट्रिय लिग गर्ने निर्णय भएको हो । यदि क्लबहरू तयार छन् भने एन्फाले शीर्ष डिभिजन लिग गर्न कुनै समस्या छैन ।’
कार्तिक १७ गते सातदोबाटोस्थित एन्फा मुख्यालयमा एन्फा र क्लबबीच सम्पन्न बैठकबाट आगामी पुस ९ गतेबाट राष्ट्रिय लिग गर्ने सहमती जुटेको थियो ।
यसैगरी उक्त बैठकले अर्को वर्षको पुष ३ गते सहिद स्मारक ‘ए’ डिभिजन लिग गर्ने सहमति पनि जुटाएको थियो ।
यो वर्ष पनि लिग नहुने भएपछि नेपाल फुटबल खेलाडी संघले बिहिबार धर्ना कार्यक्रम गरेको थियो । खेलाडी संघले एक साता भित्रमा एक डिभिजन लिग गर्ने सुनिश्चित नभए आन्दोलनलाई जारी राख्ने घोषणा गरेको छ ।
पछिल्लो पटक २०७९ सालमा शीर्ष डिभिजन लिग भएको थियो । एन्फाभित्र आन्तरिक राजनीतिका कारण त्यसयता लिग हुन सकेको छैन ।
