इङ्लिस प्रिमियर लिग

ग्वार्डिओलाले गरे फोडेनको तारिफ

लन्डन । नटिङघम फरेस्टविरुद्ध मिडफिल्डर फिल फोडेनको राम्रो प्रर्दशनपछि म्यानचेस्टर सिटीका प्रशिक्षक पेपे ग्वार्डिओलाले उनको प्रशंसा गरेका छन् ।

शनिबार राति भएको प्रिमियर लिग खेलमा सिटी र नटिङघम १-१ को बराबरीमा रोकिएका थिए ।

 फोडेन सिटीको पछिल्ला चार खेलमध्ये तीन खेलमा वैकिल्पक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए । 
 

‘फोडेनले राम्रो खेल देखाए’, ग्वार्डिओलाले भने,‘पहिलो हाफमा उनले आक्रामक खेल खेलेका थिए । फोडेन धेरै पटक फरवार्डको लाइनमा आएका थिए । अझै उनमा संयम छैन । यो सामान्य कुरा हो । किनकी फोडेनले धेरै खेलमा मौका पाएका थिएनन् ।’

फोडेन र अन्य खेलाडीले बिस्तारै मौका पाउनेमा ग्वार्डिओला विश्वस्त छन् । 

‘अरु खेलाडी सरह नै फोडेनले राम्रो प्रशिक्षण गरेका छन् । टोलीमा पर्न सबैले प्रतिस्पर्धा गर्नुपर्छ,’  ग्वार्डिओलाले भने,‘म तनाबमा छैन । सकेसम्म राम्रो खेल्ने प्रयास गर्नुपर्छ ।’

फोडेनले यस सिजन प्रिमियर लिगमा सिटीका लागि २१ खेल खेल्दै सात गोल गरिसकेका छन् ।