पूर्व राष्ट्रिय खेलाडी असिम फ्रान्सेली क्लबको सहायक प्रशिक्षकमा नियुक्त 

पेरिस, (खेलाडी)- नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व सदस्य असिमजंग कार्की फ्रान्सेली फुटबल क्लब डेभल डे रेयुल (एफसी भिडिआर) को उमेर समूहको टोलीमा सहायक प्रशिक्षक नियुक्त भएका छन् । 

फ्रान्सेली प्रान्तीय लिगको क्लब एफसी भिडिआरले १५ वर्ष मुनिको टोलीमा सहायक प्रशिक्षकको जिम्मेवारी दिएको असिमले जानकारी गराएका छन् । 

‘अहिलेलाई म १५ वर्ष मुनिको टोलीको सहायक प्रशिक्षकमा नियुक्त भएको छु । मसँग यो क्लबको मुख्य प्रशिक्षक बन्ने आधिकारीक लाइसेन्स पनि छ’, असिमले भने ।

असिमको टोलीले फ्रान्सको लिग ‘लिग डे फुटबल डे नर्मान्डी’मा प्रतिस्पर्धा गर्नेछ । फ्रान्सेली फुटबल संघ (एफएफएफ)को आधिकारिक यो प्रतियोगिता फ्रान्सको प्रान्तिय प्रतियोगिता हो । 

फ्रान्सका सबै प्रान्तमा हुने यो लिग ९ महिनासम्म चल्नेछ । जहाँ प्रत्येक टोलीले होम र अवे गरी २२ खेल खेल्नुपर्नेछ ।