नेपालको केन्या भ्रमण

केन्यासँग हार्यो नेपाल

नौरबी । खराब ब्याटिङको शिकार बनेको नेपाल ट्वान्टी २० शृंखलाअन्तर्गत दोस्रो ट्वान्टी २० मा घरेलु टिम केन्यासँग १७ रनले पराजित भएको छ ।

नौरबीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा आएको केन्याले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ३२ रनको योगफल तयार पारेको थियो । दोस्रो इनिङमा १ सय ३३ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा सबै विकेट गुमाएर १ सय १४ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि आरिफ शेखले २५, आदिल आलम र उपकप्तान रोहित पौडेलले २०-२० तथा पवन सर्राफले १९ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । केन्याका लागि इमानुएल बुन्डी, लुकास ओलोच र  भिराज पटेलले २-२ विकेट लिए ।

यसअघि पहिलो इनिङमा केन्याका रकेप पटेलले सर्वाधिक ३५ रन बनाएका थिए । उनले २५ बलमा चार चौका र एक छक्का प्रहार गरे ।

यसबाहेक, नेहेमिह ओधिएम्बोले २९,  इर्फान करिमले २२ र सचिन भुडियाले १४ रन जोडे ।

नेपालका कप्तान सन्दीप लामिछानेले र दीपेन्द्रसिंह ऐरीले समान तीन विकेट लिए । यसबाहेक, करण केसीले दुई र पवन सर्राफले एक विकेट लिए ।

नेपालले केन्यासँग पाँच खेलको ट्वान्टी २० शृंखला र तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ ।

यसअघि भएको पहिलो खेलमा नेपालले केन्यामाथि पाँच विकेटको जित निकालेको थियो  ।

नेपाल र केन्याबीचको ट्वान्टी २० शृंखला भदौ १४ गतेसम्म चल्नेछ । यसपछि भदौ १७ गतेदेखि यी दुई टिमले एकदिवसीय शृंखला खेल्नेछन् ।