कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल

मेलबर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट हुने

काठमाडौं । द हिमालयन क्लबले अस्ट्रेलियाको मेलबर्नमा आगामी शनिबारदेखि कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभलको दोस्रो संस्करण आयोजना गर्ने भएको छ ।

द हिमालयन क्लबको आयोजनामा होम ग्राउन्ड टिडब्ल्यु ब्लेक पार्कमा आगामी मार्च १९ देखि २७ मार्चसम्म दुई सप्ताहान्त क्रिकेट गर्न लागेको हो ।

प्रतियोगितामा द हिमालयन क्लब, एक्सपर्ट सगरमाथा ब्लुज, रोयल राइनोस क्रिकेट क्लब, मेभन क्रिकेट क्लब, फार वेस्टर्न हन्टर्स, गोर्खाली क्रिकेट क्लब, एभरेस्ट लायन्स, गल्मी टाइगर्स गरी आठ टोलीको सहभागिता रहनेछ । यो वर्षको द हन्ड्रेड प्रतियोगिता दुई सप्ताहान्तसम्म चल्ने छ ।

प्रतियोगितालाई क्रिकेट भिक्टोरिया, हार्मनी इन क्रिकेट एसोसिएसन र अन्य नेपाली सामुदायिक क्रिकेट क्लब तथा संघसंस्थाले पनि सहयोग गरेको छ ।

प्रतियोगिताको विजेताले तीन हजार डलर र दोस्रो हुनेले एक हजार डलर नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिनेछ ।

अघिल्लो पटक विजेताले दुई हजार डलर पाएकोमा यो वर्ष पुरस्कार राशि वृद्धि गरिएको हो । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट फिल्डर, सर्वोत्कृष्ट ब्याटर र प्लेयर अफ दी म्याच फाइनलले ट्रफी र प्रमाणपत्र राखिएको छ ।

सन् २००९ मा क्रिकेट खेल्ने केही साथीहरूको समूह मिलेर खोलिएको हिमालयन क्लब सन् २०११ मा भिक्टोरियामा नेपाली समुदायमा दर्ता गर्ने पहिलो सामुदायिक खेलकुद क्लबको रूपमा परिचित छ ।