डब्लुटी प्रेसिडेन्ट कप

सृजनाले जितिन् रजत पदक

नेपाली पारा तेक्वान्दो खेलाडी सिर्जना घिसिङले डब्लुटी प्रेसिडेन्ट कप एसिया रिजनमा सोमबार रजत पदक जितेकी छन् ।

इरानको तेहरानमा भएको प्रतियोगिताअन्तर्गत के– ४४ क्याटगोरीको महिला ५२ केजीमुनि सिर्जनाले नेपाललाई रजत पदक दिलाएको उनका प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् । प्रशिक्षक लामाका अनुसार नेपाल ‘फेयर प्ले अवार्ड’ पनि जित्न सफल भयो ।

नेपालबाट एक्लो सहभागी खेलाडी सिर्जनाले क्वाटरफाइनलमा आयोजक राष्ट्र इरानकी सहर घन्बरी कोमिसानीलाई ५–३ ले पारजित गर्दै सेमिफाइनल यात्रा तय गरेकी थिइन् । सेमिफाइनलमा सिर्जनाले टर्कीकी मर्येम बेतुल कभ्दरलाई ११–१० ले हराउदै आयोजक राष्ट्रकै फतेमेह दोदान्घेसंग फाइनल भेट पक्का गरेकी थिइन् । फाइनलमा सिर्जना ३३–११ ले चुकिन् ।

सन् २०१८ मा पारा तेक्वान्दो खेल्न सुरु गरेकी सिर्जनाको यो दोश्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । केहि महिनाअघि बहराइनको मानामामा भएको चौथो एसियाली पारा युथ गेम्समा पनि सिर्जनाले रजत नै जितेकी थिइन् ।

अन्तर्राष्ट्रिय लेभल २ पारा तेक्वान्दो प्रशिक्षक लामाको यो प्रशिक्षकका रुपमा पाँचौं अन्तर्राष्ट्रिय प्रतियोगिता   हो । ५ मध्ये ४ मा नेपाल पदक जित्न सफल भएको छ । टोकियो पारालिम्पिक– २०२१ मा भने नेपाल पदकको नजिक पुगेपनि चुकेको थियो । यद्यपि उक्त प्रतियोगितामा पलेश गोबर्धनले २ ‘बाउट’ जितेर इतिहास रचेकी थिइन् । त्यसबेला पनि पलेशाको प्रशिक्षक लामा नै थिए ।