ट्वान्टी २० विश्वकप ग्लोबल छनोट

क्यानडाले नेपाललाई दियो ८१ रनको लक्ष्य

काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वपको ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा क्यानडाले नेपालसामु ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

अल अमेरत क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको क्यानडाले १५ ओभरमा सबै विकेट गुमाएर ८० रनको योगफल तयार गर्यो । नेपालको कसिलो बलिङसामू अपेक्षित ब्याटिङ गर्न नसकेको क्यानडाका लागि डिलियोन हेलिगरले सर्वाधिक २४ रन बनाएर अविजित रहे 

क्यानडाका लागि २२ बलको सामना गरेका हेलिगरले एक चौका र दुई छक्का प्रहार गरे । यस्तै, कप्तान नवनीत धलिवालले १४ बलमा १८ तथा ओपनर रेयान पठानले १४ बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । 

नेपालका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए । आफ्नो ओभरको पूरा चार ओभर बलिङ गरेका सन्दीपले १२ रन मात्रै खर्चेर सर्वाधिक विकेट लिए । 

यस्तै, कमलसिंह ऐरीले तीन ओभरमा १६ रन खर्चेर दुई तथा अविनाष बोहरले पनि समान तीन ओभरमा सात रन खर्चेर दुई विकेट लिए । कुशल मल्लले एक ओभरमा चार रन खर्चेर एक विकेट लिए । 

आजको खेलमा जित निकाले नेपाल समूह विजेताको हकमा सेमिफाइनलमा पुग्ने छ । सेमिफाइनलबाट फाइनल पुग्ने दुई टोलीले अक्टोबरदेखि अस्ट्रेलियामा हुने ट्वान्टी २० विश्वकपमा स्थान बनाउने छन् ।