प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता

पिएम कप: एपिएफको लगातार तेस्रो जित

काठमाडौं । प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ क्लबले बिहीबार गण्डकी प्रदेशमाथि २ रनको रोमाञ्चक जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको एपिएफले १८.४ ओभरमा सबै विकट गुमाएर ९२ रनको योगफल तयार गरेको थियो ।

दोस्रो इनिङमा ९३ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको गण्डकीले २० ओभरमा सबै विकेट गुमाएर ९० रन मात्रै जोड्न सक्यो । गण्डकीलाई ९० मै रोक्न एपिएफका कमलसिंह ऐरीले सर्वाधिक ३ तथा किशोर महतोले २ विकेट लिए । यस्तै अविनाश बोहराले १ विकेट लिएका थिए ।

गण्डकीका लागि कप्तान विपिन खत्रीले ३९ बलमा ३ चौका र १ छक्कासहित ३६ रन बनाउँदा विकेटकिपर–ब्याटर बिधान श्रेष्ठले ४९ बलमा १ चौकासहित २९ रनको योगदान गरे । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन नसक्दा गण्डकी पराजित भयो ।

यसअघि पहिलो इनिङमा ब्याटिङ गरेको एपिएफका लागि प्रदीप ऐरीले १७, आशिफ शेखले १६, दिपक बोहराले १५ बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्नसकेका थिएनन् ।

गण्डकीका लागि कमल परियारले सर्वाधिक ३ तथा विशाल पौडेलले २ विकेट लिएका थिए । यस्तै चन्द्र पौडेल, कृष्ण पौडेल र सुवाष भण्डारीले १÷१ विकेट लिएका थिए ।

प्रतियोगितामा लगातार दोस्रो जित निकालेसँगै एपिएफ सेमिफाइनल नजिक पुगेको छ । समूह ‘बी’मा रहेको एपिएफको मात्रै ६ अंक छ । दोस्रो स्थानको बागमती, तेस्रो स्थानको लुम्बिनीको दुई खेलबाट २ अंक छ । यस्तै तीन खेलमा २ अंक जोडेको प्रदेश २ चौथो र अंकविहीन गण्डकी पाँचौं स्थानमा छ । पहिलो चरणबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।