भरतपुर मेयर्स कप अन्तर विद्यालय क्रिकेट

मेयर्स कपमा सहभागी १० विद्यालयलाई खेल सामग्री हस्तान्तरण

चितवन । भरतपुर मेयर्स कप अन्तर विद्यालय ट्वान्टी २० क्रिकेट प्रतियोगितामा सहभागी सामुदायिक विद्यालयलाई एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले ८ लाख ५० हजार रुपैयाँ बराबरको क्रिकेट खेल सामग्री हस्तान्तरण गरेको छ ।

विद्यालयस्तरबाटै खेलकुद विकास गर्ने उद्देश्यले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रगंशालाको नमुना खेल मैदानमा यही माघ २६ गतेदेखि हुन लागेको प्रतियोगितामा सहभागी भरतपुर महानगरपालिकाभित्रका १० सामुदायिक विद्यालयलाई बुधबार खेल सामग्री दिइएको हो ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, उपमेयर चित्रसेन अधिकारी, एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी, चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदीप पियालगायतले  विद्यालयलाई खेल सामग्री हस्तान्तरण गरे ।

उक्त अवसरमा प्रतियोगिताको विजेताले प्राप्त गर्ने ट्रफीसमेत अनावरण गरियो ।

एक्सपर्टले कुल ८ लाख ६० हजार रुपैयाँ मूल्य बराबरका खेल सामग्री र जर्सी प्रायोजन गरेको छ । यसैगरी दोस्रो चरण प्रवेश गर्ने १० टोलीले फागुन ४ गते जर्सी पाउनेछन् ।

‘ग्रासरुट क्रिकेट’ विकास गर्ने अभियानका साथ चितवन जिल्ला क्रिकेट संघको सहआयोजना तथा एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनको मुख्य प्रायोजनमा भरतपुर महानगरपालिकाले यो प्रतियोगिता गर्न लागेको हो ।

यस प्रतियोगितामा भरतपुर महानगरपालिकाभित्रका १० सामुदायिक र १० संस्थागत माध्यमिक विद्यालय गरी कुल २० टोलीले सहभागिता जनाउने छन् । पहिलो चरणका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइने छ । कुल १० खेल हुने यो चरणबाट समान पाँच सामुदायिक र संस्थागत विद्यालय दोस्रो चरणमा प्रवेश गर्नेछन् ।

फागुन ४ गतेदेखि दोस्रो चरण सुरु हुनेछ । जसमा पहिलो चरण पार गरेका १० टोलीलाई दुई समूहमा विभाजन गराइने छ । प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगितामा कुल ३५ खेल खेलाइने छ ।

प्रतियोगताको  मुख्य प्रायोजक एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले विजेता र उपविजेतालाई क्रमशः ६० हजार र ३० हजार रुपैयाँ मूल्य बराबरका खेल सामग्री प्रदान गर्नेछ ।